म्याग्दीको सदरमुकाम बेनीका विभिन्न किसिमका पसलले कोरोना संक्रमण सर्नबाट जोगिन अवलम्बन गरिएका सुरक्षात्मक उपाय र प्रयोगको अवस्थाको आइतबार प्रहरीले अनुगमन गरेको छ ।

कोभिड–१९ कमाण्ड पोष्टले तयार गरेको सुरक्षा सर्तकताको अवस्था र प्रयोगमा जोड दिदैं प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरको नेतृत्वमा हरेक पसलमा पुगेर अनुगमन गरिएको थियो । सरकारले लकडाउन खुकुलो पारेसँगै सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तुका साथै बजारमा खरिद गर्ने क्रममा मास्क अनिवार्य प्रयोग, ब्यापारीले पसल अगाडी सावुनपानी,कम्तीमा २ देखि तीन फिट दूरी कायम गरी सुरक्षा घेरा लगायतका मापदण्डको अनुगमन गरिएको प्रनाउ कुँवरले बताए । ‘बेनीका सबै पसलमा पुगेर अनुमगन गरियो,‘कार्यान्वयन नभएकालाई तत्काल प्रयोगमा ल्याउन सचेत बनाइयो’ कुँवरले भने ।

उनका अनुसार बेनीका करिब ३ सय पसलमा अनुगमन गरिएकोमा ७५ प्रतिशतले सुरक्षा सचेतना अपनाएको बताए । किराना, तरकारी, औषधि पसल, फेन्सी लगयातका पसलहरुले कार्यान्वयन गरेपनि केहीले बेवास्ता गरेको बताउँदै नाम समेत टिपोट गरी ल्याइएको प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले बताए ।

कोरोनाको जोखिमलाई मध्यनजर गरी पसलमा डोरी, घेरामा उभिए मात्रै सर्वसाधारणले सामान खरिद, पसलमा पुगेलगत्तै सावुनपानीले हात धुनुपर्ने, मास्क लगाउनुपर्ने नियमित सुरक्षा उपायको कार्यान्वयनका बारेमा छड्के अनुगमन सहित दैनिक गस्ती टोलीले चेकजाँच गर्ने बताए ।

दैनिकजसो भिड लाग्ने स्थानमा बढी निगरानी गरिएको थियो । अनुगमन टोलीमा नागरिक समाजका संयोजक सुदर्शन कुमार श्रेष्ठ लगायत पत्रकारहरु समेत सहभागी थिए । अनुगमन टोलीले एकदिनभित्र मापदण्ड पुरा गर्न समेत निर्देशन दिएको छ ।

Leave a Reply