म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम जोड्ने सडक गएरातीको अविरल बर्षाले पूर्णरुपमा अवरुद्ध भएको छ । मौवाफाँटदेखि दग्नाम जोड्ने सडकमा ठुला ढुंगा खसेर अवरुद्ध भएको दग्नामका स्थानीय धनिलाल गर्बुजाले जानकारी दिनुभयो ।

सडकखण्डको विभिन्न स्थानमा बाढी र पहिरोले अवरुद्ध भएपछि दग्नाम,दर्मिजा, चिमखोला कुइनेमंगलबाट आवतजावत गर्ने सर्वसाधारणलाई सास्ती भएको छ । सडक अवरुद्धसँगै यातायातका साधन समेत सञ्चालन हुन सकेको छैन भने पैदलयात्रीलाई समेत समस्या भएको स्थानीयले बताएका छन् ।

दवाङ भिर लगायत विभिन्न स्थानमा जोखिम रहेको छ भने पहिरोले अवरुद्ध भएकोलाई तत्काल पन्छाउन समेत समस्या भएको छ । गएरातीको अविरल बर्षाले रघगुंगा ३ गलेश्वरको पारीपट्टीको बस्ती नै जोखिममा परेको छ । गलेश्वर–पिप्ले सडकखण्डको ढल ब्यवस्थापन र स्तरउन्नतीको काममा ढिलासुस्ती भएसँगै आवतजावतमा समस्या भएको बस्ती जोखिममा परेको छ। लगातारको बर्षाले जिल्लाका विभिन्न ग्रामिण सडक अवरुद्ध भएको छ ।

Leave a Reply