सडक विस्तारको क्रममा ठेकेदारले लापरवाही गर्दा बेनी-जोमसोम सडकखण्ड अन्तरगत राहुघाट गलेश्वरको बस्ती उच्च जोखिममा परेको छ । रघुगङ्गा गाउँपालिका–३ राहुघाट–पिप्ले–भगवती सडकखण्ड अन्तगत ढल ब्यवस्थापन लगायत सडक स्तरउन्नतीमा लापरवाही गरिँदा २१ घरधुरी पहिरोको उच्च जोखिममा परेको स्थानीयले बताएका छन् । बस्तीभन्दा माथिबाट सडक निर्माण थालिएपछि पहिरो जान थालेको स्थानीय कुमार मगरले बेनीअनलाइनलाई बताए । ‘ढिस्को नै खस्न थालेको छ,‘कुनैपनि बेला पहिरोले क्षती पुग्न सक्छ’ मगरले भने । उनले बस्ती माथिको जमिनमा धाँजा फाटेकाले बैकल्पिक बासस्थानको खोजी समेत गरिएको बताए ।

उनका अनुसार लक्ष्मण चालिसे, मिम थकाली, तमबहादुर छन्त्याल, भेमयाँ फगामी लगायत २१ घरधुरी उच्च जोखिममा रहेकाले तत्काल पहिरो नियन्त्रणमा पहल गर्नुपर्ने बताए । लगातारको बर्षाले चिरा परेको ढिस्को बस्तीमा खस्ने जोखिमले स्थानीय त्रसित भएका छन् । विगतमा समेत प्राकृतिक प्रकोपको उच्च जोखिम रहेको सूचीमा समेत राखिएको स्थान भएपनि सडक विस्तारमा चरम लापरवाही भएको स्थानीयको आरोप छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालयले आयोजना गलेश्वर राहुघाट देखि पिप्ले–भगवती हुदै बेग जोड्ने सडक स्तरोन्नति र कालोपत्रे गर्न आयोजना एपेक्स–खड्का कृष्ण जे।भी काठमाडौले भ्याट सहित १८ करोड ४१ लाखरुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले पहिलो चरणमा सडक फराकिलो बनाउने, घुम्ती तथा मोड र ग्रेड सुधार गरिरहेको अवस्थामा भारी बर्षाले बस्ती जोखिममा परेको हो । उकालो सडक विस्तारको क्रममा माटो समेत बस्तीमा आउने गरेकाले तत्काल ब्यवस्थापन गर्न जिसस प्रमुख देबेन्द्रबहादुर कटुवाल, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरको टोलीले समेत अनुगमन गरेको छ । नाली बनाउने, ह्युम पाइप, कज्वे र बायो इञ्जिनियरीङमा ठेकेदार कम्पनीको लापरवाहीलेृ सडक आसपासको बस्ती जोखिममा परेकाले तत्काल बस्ती जोगाउन आवश्यक निर्देशन दिइएको छ । उक्त क्षेत्रमा एकदशक अगाडीदेखि नै कच्ची बाटो विस्तारको क्रममा पहिरोले स्थानीयलाई सताउने गरेको थियो । राहुघाट, कालिगण्डकी नदीको कटान र माथिबाट पहिरोले उक्त क्षेत्रमा रहेका ७५ घरधुरी जोखिममा छन् ।

Leave a Reply