म्याग्दीमा थप दुई बिरामीमा स्क्रब टाइफस पोजेटिभ देखिएको छ । रातो बिमिरा र ज्वरो आएपछि बेनी अस्पतालमा भर्ना भएकी मालिका गाउँपालिका–५ देविस्थानकी २३ बर्षिय यूवा र बेनी नगरपालिका–६ की ४५ बर्षिया महिलाको ल्याब परीक्षणको क्रममा स्क्रब टाइफस संक्रमण देखिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुबेदीले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार दुबैको अस्पतालमा उपचार भइरहेको छ । यो संगै गएको बैशाख यता म्याग्दीमा ७ जनामा स्क्रब टाइफस पोजेटिभ देखिएको बेनी अस्पतालले जनाएको छ । गतबर्ष पहिलोपटक एकजनामा स्क्रब टाइफस देखिएको थियो ।

यसबर्ष सबैभन्दा धेरे बेनी नगरपालिका भित्र ५ जनामा देखिएको छ । बेनपा–६ थाकनपोखरी, छापा, अर्थुङे, बेनपा–९ काउलेगौडामा देखिएको छ भने मंगला गाउँपालिका–५ अर्मनका १ पुरुषमा देखिएको छ । ७ जना संक्रमतिमा ५ महिला र २ पुरुष रहेका छन् ।

मुसामा हुने किर्नाबाट सर्ने स्क्रब टाइफस परजीवीको सङ्क्रमणको जोखिममासमेत म्याग्दी परेको छ । मुसामा हुने परजीवीलाई एक प्रकारको माइट जातिको सूक्ष्म किराको माध्यामले स्क्रब टाइफस मानिसमा सर्ने बेनी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. अमृत अधिकारीले बताए । रोग समयमा पत्ता नलागेमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अङ्गमा सङ्क्रमण फैलिई बिरामीको मृत्युसमेत हुन सक्ने डा. अधिकारीको भनाई छ ।

झाडीमा बस्ने मुसाको कानमा पाइने उक्त माइट झाडीमा मानिस जाँदा माइटले मानिसलाई टोकेको कारणले गर्दा यो रोग भएको पाइएको छ । स्क्रब टाइफस र डेंगुको लक्षण करिब एउटै हुने भएपनि स्क्रब टाइफसमा किर्नाले टोकेको वरिपरि शरीरमा रातो बिमिरा देखा पर्नु ज्वरो अत्यधिक आउनु स्क्रब टाइफसका प्रमुख कारण हुन् ।

Leave a Reply