म्याग्दीमा यसपटक समयमै पर्याप्त वर्षा भएका कारणले किसानलाई धान रोप्न सजिलो भएको छ । धान रोप्ने बेला हिलोमा काम गर्ने र त्यही हिलो एकापसमा छ्यापेर खुशी साटासाट गर्ने गरिन्छ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) ले रोपाइँमा पनि प्रभाव पारेको छ ।
धान रोपाइँका लागि उपयुक्त मानिने वर्षात्को समय असार महिनाको १५ अर्थात् मध्य असार बितिसक्दा हिमाली जिल्ला म्याग्दीमा ४० प्रतिशत रोपाइँ भएको छ । एक नगरपालिका र ५ ओटा गाउँपालिका रहेको म्याग्दीको अधिकांश ठाउँमा रहेका खेतहरुमा धान रोपाइँ गरिएको हो । यसवर्ष समयमै मनसुन सुरु भएको हुँदा जिल्लाको विभिन्न स्थानमा रोपाइँ भैरहेकाले हालसम्म जिल्लामा ४० प्रतिशतको हाराहारीमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
गएको हिउँदबाट नै पटकपटक हिमपात तथा वर्षा परिरहेको हुँदा यसवर्ष समयमै पर्याप्त मनसुनी वर्षा भएकाले पनि पहाडी क्षेत्रमा खेत रोपाइँ गर्न सहज भएको स्थानीय कृषकहरु बताउँछन् । गत वर्षको तुलनामा यसवर्ष समयमै मनसुन परेको हुँदा धान रोपाइँ गर्न कृषकलाई सहज हुनुका साथै धान उत्पादन समेत बढने कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोईरालाले बताउनुभयो ।
जिल्लाको कुल खेतीयोग्य जमिनको ३० हजार ८ सय ५६ हेक्टरमध्ये १९ हजार ४ सय ९८ हेक्टरमा मात्रै खेती गर्ने गरिएको छ भने ३ हजार ८ सय ९८ हेक्टरमा धान खेती हुँदै आएको छ । गत वर्षको तथ्याङ्कअनुसार कुल खेतीयोग्य जमिनको करिब ११ प्रतिशत जमिनमा मात्रै सिँचाई सुविधा पुगेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।
म्याग्दीको बेनी नगरपालिकासहित पाँचवटै गाउँपालिकामा धान खेतीको उत्पादन हुन्छ । म्याग्दीमा गौरिया, जेठोबुढो, छुम्रुङ, खुमल, गुडुरा, दर्माली, मार्सी, आङा, झिनुवा, ताकमारे, माछापुच्छ«े–३, लुम्ले–२ जस्ता लोकल जातका स्थानीय धानहरु रोप्ने गरिन्छ ।
 
 
 
 
 
 
 
 
 











