म्याग्दीमा यसपटक समयमै पर्याप्त वर्षा भएका कारणले किसानलाई धान रोप्न सजिलो भएको छ । धान रोप्ने बेला हिलोमा काम गर्ने र त्यही हिलो एकापसमा छ्यापेर खुशी साटासाट गर्ने गरिन्छ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) ले रोपाइँमा पनि प्रभाव पारेको छ ।

धान रोपाइँका लागि उपयुक्त मानिने वर्षात्को समय असार महिनाको १५ अर्थात् मध्य असार बितिसक्दा हिमाली जिल्ला म्याग्दीमा ४० प्रतिशत रोपाइँ भएको छ । एक नगरपालिका र ५ ओटा गाउँपालिका रहेको म्याग्दीको अधिकांश ठाउँमा रहेका खेतहरुमा धान रोपाइँ गरिएको हो । यसवर्ष समयमै मनसुन सुरु भएको हुँदा जिल्लाको विभिन्न स्थानमा रोपाइँ भैरहेकाले हालसम्म जिल्लामा ४० प्रतिशतको हाराहारीमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

गएको हिउँदबाट नै पटकपटक हिमपात तथा वर्षा परिरहेको हुँदा यसवर्ष समयमै पर्याप्त मनसुनी वर्षा भएकाले पनि पहाडी क्षेत्रमा खेत रोपाइँ गर्न सहज भएको स्थानीय कृषकहरु बताउँछन् । गत वर्षको तुलनामा यसवर्ष समयमै मनसुन परेको हुँदा धान रोपाइँ गर्न कृषकलाई सहज हुनुका साथै धान उत्पादन समेत बढने कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोईरालाले बताउनुभयो ।जिल्लाको कुल खेतीयोग्य जमिनको ३० हजार ८ सय ५६ हेक्टरमध्ये १९ हजार ४ सय ९८ हेक्टरमा मात्रै खेती गर्ने गरिएको छ भने ३ हजार ८ सय ९८ हेक्टरमा धान खेती हुँदै आएको छ । गत वर्षको तथ्याङ्कअनुसार कुल खेतीयोग्य जमिनको करिब ११ प्रतिशत जमिनमा मात्रै सिँचाई सुविधा पुगेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

म्याग्दीको बेनी नगरपालिकासहित पाँचवटै गाउँपालिकामा धान खेतीको उत्पादन हुन्छ । म्याग्दीमा गौरिया, जेठोबुढो, छुम्रुङ, खुमल, गुडुरा, दर्माली, मार्सी, आङा, झिनुवा, ताकमारे, माछापुच्छ«े–३, लुम्ले–२ जस्ता लोकल जातका स्थानीय धानहरु रोप्ने गरिन्छ ।

Leave a Reply