बेनी नगरपालिका-९, काफँलबोटका ७ वर्षीय सन्देश दर्जी पढ्न चाहन्छन् । तर, दुबै खुट्टाले टेक्न सक्दैनन्। आमा सरिता दर्जीको सहारामा हिँडनुपर्छ । बोली समेत प्रस्ट छैन्। दुईबर्ष अगाडी देखिनै हिड्न र विद्यालय जान खोज्ने दर्जीसँग ह्विलचियर समेत छैन्।

घरमा कोही नयाँ मान्छे आए मुसुक्क हाँस्ने सन्देश बोल्ने, लेख्न र हिड्न खोज्ने आमा सरिताको भनाई छ।‘विद्यालय पठाउने चाहना गरिबीले रोकेको छ,‘अपांग भएकै कारण पढ्ने धोको पूरा भएको छैन’ सरिताले भनिन् । उनले छोराको आवश्यकता समेत गरिबीकै कारण पुरा गर्न नसकेको बताईन् ।

‘धन कमाउन जानुभएको श्रीमान साउदीमा अलपत्र हुनुहुन्छ,‘साना–साना आवश्यकतालाई पनि पुरा गर्न सक्ने क्षमता छैन’ उनले भनिन्।

जेठो छोराको शरीर भने हृष्टपुष्ट भएपनि खुट्टाले टेक्न नसक्दा बोकेरै शौचालय, मेलापाता लैजाने गरेको बताउँदै घरमा एक्लै छोड्दा केही हुन्छ भन्ने चिन्ताले सताउने गरेको बताईन् । करिब दुई बर्ष अगाडी साउदी गएका बिरबहादुर कोरोनाको जोखिमसँगै जागिर छोडेर अलपत्र अवस्थामा छन्। बिरबहादुर साउदीबाट रित्तै घर फर्किने तयारीमा रहेको समेत सरिताको भनाई छ। अपाङ्ग बालबालिकाले पढ्ने विद्यालयका बारेमा जानकारी भएमा छोरालाई पठाउने सरिताको योजना छ ।

‘अपांग भएकै कारण छोराले शिक्षाबाट बन्चित नहोस,‘ गाउँमा भएको विद्यालयमा पढाउने अवस्था छैन’ उनले भनिन् । विद्यालयमा पठाएजस्तो घरमा नहुने भन्दै छोराको इच्छा पनि विद्यालय नै गएर पढ्ने रहेको उनको भनाई छ । गाउँमा रहेको विद्यालयमा घरबाटै ओहोरदोहोर गर्न छोराको शाररीक अवस्था ठिक नभएकाले उचित वातावरण भएको विद्यालयमा लैजाने चाहना ब्यक्त गरेको ईन्जिनियर कृष्ण रिजालले बताए ।

‘फरक क्षमता भएकाले बालबालिकालाई बेवास्ता गरिन्छ,‘यस्तो छोडेमा सन्देशको पढ्ने चाहना कहिल्यै पुरा हुदैन’ रिजालले भने । उनले पालनपोषण, लत्ताकपडा र अपांग बालकलाई आवश्यक पर्ने न्यूनतम आधारभुत आवश्यकता समेत नभएको बताए ।

अपांगता भएका बालबालिकाका लागि अपांगमैत्री कक्षाकोठा सहितको भौतिक संरचनाको अभाव भएकाले अपांगता भएका विद्यार्थीले पढ्ने विद्यालयमा लैजानुपर्ने उनको भनाई छ ।

यता अपांगको क्षेत्रमा सक्रिय अपाङ्ग संघ म्याग्दीमा सचिव सुरेन्द्र खत्रीले अपांगको क्षेत्रमा कागजमा मिठो शब्दहरू बनाइएपनि ब्यवहारमा ठिक उल्टो भएको गुनासो गरे । ‘विद्यालय बाहिर अझै पनि धेरै अपांग बालबालिका छन्,‘राज्यको प्रतिबद्धता र घोषणा अनुसार काम गरिएको छैन’ खत्रीले भने ।

उनले अपांग भएकालाई दोस्रो दर्जाको नागरिक सरह ब्यवहार गरिएको समेत आरोप लगाए ।उनले स्थानीय सरकारमा गाउँकै प्रतिनिधिले चुनाव जित्दा समेत अपांगको समस्या र आवश्यकतामा नजर नपुगेको बताउँदै झन् अवस्था नाजुक भएको बताए । जिल्लामा विपन्न परिवारमा जन्मिएका अपांग बालबालिकाको अवस्था विकराल रहेको अपांग संघ म्याग्दीले जनाएको छ ।

Note: सहयोग र थप जानकारीका लागि Er.कृष्ण रिजाल ९८५७६२१२१४ र बालककी आमा सरिता दर्जी ९८०६१७१२२६ मा सम्पर्क गर्न सक्नुहुने छ ।

Leave a Reply