म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक बर्षदेखि सबै वडामा टेलिमेडिसिन (दुर–चिकित्सा) सेवाको सुरुवात गर्ने भएको छ ।

गाउँपालिका भित्रका अधिकांस बस्तीमा बसोबास गर्नेलाई सुगम क्षेत्रमा रहेका अनभुवी चिकित्सकबाट गाउँमै सेवा दिने लक्ष्यका साथ आगामी आवमा ७ वटै वडामा सेवा विस्तारका लागि कार्यविधि सहित आवश्यक उपकरणहरू खरिद गर्न ५ लाख समेत विनियोजन भइसकेको गाउँपालिकाका योजना शाखा प्रमुख कृष्ण सुबेदीले बताए ।

‘दुर्गममै सुगमका अस्पतालका चिकित्सकको सेवा दिने प्रयासमा छौ,‘सबै वडामा पुग्ने गरी योजनाकै चरणमा छौ’ सुबेदीले भने ।

गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले जनतालाई सहज रुपमा स्वास्थ्य सेवा दिन अहिले समस्या भइरहेको अवस्थामा आवश्यक तयारी सहित नियमित सञ्चालन हुने गरी बेनी अस्पताल सहित म्याग्दी जिल्लामा जन्मिएर विभिन्न रोगको विशेषज्ञ चिकित्सकको सहयोगका सेवा दिने गरी आवश्यक तयारी गर्न समेत निर्देशन प्राप्त भएको सुबेदीले बताए ।

गाउँपालिकाको हरेक वडामा रहेको स्वास्थ्य चौकीमा पुगेका बिरामीलाई स्वास्थ्यकर्मीको सहयोगमा भिडियोमार्फत लक्षण तथा चिह्न हेरेर चिकित्सकसँग परामर्श तथा उपचार गरिने छ । धवलागिरीको एउटा बस्तीबाट वडाभित्रकै स्वास्थ्यचौकीमा पुग्न समेत करिब एकदिनको पैदलयात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

टेलिमेडिसिन सेवाका लागि चिकित्सकको सेवाशुल्कका लाग्ने खर्च समेत विनियोजन भइसकेको छ भने भिडियो परार्मशका लागि इन्टरनेट, विद्युतीय उपकरणहरूको समेत सूची तयार भइरहेको छ ।

गाउँपालिका भित्र बर्थिङ सेन्टर समेत गठन भइसकेको छ । स्वास्थ्यकर्मीले बिरामीको अवस्थाका बारेमा जानकारी गराउने र बिरामीसँग प्रत्यक्ष विशेषज्ञ चिकित्सकले सेवा प्रदान गरिने भएकाले समेत नेपालको दुर्गम क्षेत्रमा यो सेवा धेरै प्रभावकारी देखिने गरेको छ ।

बिरामीलाई विशेषज्ञ सेवा प्रदान गरी रिफर गर्न सल्लाह समेत दिने गरिन्छ । धवलागिरीमा प्रसुती सेवाको क्रममा अकालमै ज्यान गुमाउने, समयमै उपचारको अभावले बिरामीको मृत्यु समेत हुने गरेको छ । बर्खाको समयमा यातायातको साधन समेत नचल्दा बिरामीलाई बोकेर उपचारका लागि दरबाङ र सदरमुकाम बेनी ल्याउनुपर्ने बाध्यता रहेको छ ।

Leave a Reply