प्रचण्ड भन्ने बित्तिकै जनयुद्धको नायक भनेर सम्झिने गरिन्छ । प्रचण्ड सफल क्रान्तिकारी नेता हुन् भनेर पनि ब्याख्या गरिन्छ भने प्रचण्डलाई प्रचण्ड भनेको एक युग हो भनेर भन्ने जमात पनि छन् । विभिन्न कालखण्ड र घटनाक्रम नियाल्दा कतिपय कुरामा प्रचण्ड नायक र कतिपय कुरामा खलनायक भएको पाइन्छ ।

जनयुद्धकाल देखि ६२/६३ सालको जन आन्दोलन , जन आन्दोलन देखि संविधानसभा चुनाव र संविधान घोषणा पछि संघीय लोकतान्त्रिक गणतन्त्र सम्म आउँदा प्रचण्डका अनेक रुप देखिए ।

निरंकुश राजतन्त्रको व्यवस्था विरुद्धको अन्त्यका लागि जनयुद्ध गरिएको थियो । सामान्य सानो शक्तिले दुई सय चालिस बर्ष पुरानो राजतन्त्र विरुद्ध हतियार उठाउनु सामान्य कुरा थिएन ।

युद्धको लागि आवश्यक पर्ने हातहतियार , औषधोपचार देखि अरु आवश्यक बस्तुको व्यवस्था गर्ने कुरा सानो पनि होइन , त्यसको लागि भारतले सहयोग गरेको भन्ने कुरा विभिन्न पुस्तक र विश्लेषक बाट पढ्न र सुन्न पाइन्छ । प्रचण्ड लगायतका तत्कालीन माओवादी नेताहरूले भारतमा बसेर भारतको सहयोगमा जनयुद्ध समालेका थिए।
भारतले तत्कालीन माओवादीलाई र नेपाल सरकारलाई प्रयोग गरेर सरकार पक्ष र बिद्रोही पक्ष भनिने माओवाद बीच एक प्रकारको डिजाइनिङ् खेल खेलिरहेको थियो भने प्रचण्ड भारत द्वारा कसरी परिचालित भएका छन् भन्ने कुरा प्रचण्डलाई हेक्का सम्म भएन ।
नौँ बर्ष सम्म भारत बसि युद्ध मोर्चा समालेका नेताहरूले जब २०५९ साल तिर किरण र  गौरव जस्ता नेतालाई भारतले हिरासतमा लियो तब प्रचण्ड लगायतका नेताहरूले भारत विरुद्ध सुरुङ्ग युद्ध गर्छौं भनी नेपाल फर्किए।
नौ बर्ष सम्म भारतमा बसेर युद्ध मोर्चा समालेका नेताहरू नेपाल फर्किदा तत्कालीन शाही नेपाली सेना ब्यारेक बाहिर निकालिएको थियो । माओवादी नेताहरुले बुझि सकेका थिए सेना सँग लामो समय सम्म युद्ध गर्न सकिदैन भनेर ।
एकतर्फ भारत रुष्ट अर्को तर्फ सेना ब्यारेक बाहिर यसरी युद्ध गर्दा आफुहरु नै सकिने श्रीलंकाको ” तामिल टाइगर ” जस्तो हुने सम्भावना देखे भने अर्को तर्क राजाले कू गरेर एकलौटी शासन गरे । राजाले सत्ता कब्जा गरेपछि तत्कालीन ठुला दल नेपाली काङ्ग्रेस नेकपा एमाले सहित ७ दल सत्ता बाहिर भए।

यता ७ दल सत्ता बाहिर उता माओवादी नेताहरु चेपुवामा यसो हुँदा युद्ध गरेको माओवादी र सत्ता बाहिरका दलको सम्पर्क हुन थाल्यो र फेरि भारतलाई नै गुहार माग्न थाले । राजाले शासन बागडोर समाले पछि राजा चिन तिर ढल्किएको अनुमान भारतले लगायो भने राजाले पनि भारत विरोधी काम गरे यसो हुँदा भारत चिडियो ।

राजा देखि माओवादी , ७ दल र भारत रुष्ट भएका थिए त्यस पश्चात भारतको डिजाइनमा  १२ बुँदे सहमति गरियो । निरंकुश राजतन्त्रको अन्त्य गरि माओवादीले युद्ध त्यागी शान्ती प्रक्रिया जाने र राजतन्त्र विरुद्ध सशक्त जन आन्दोलन गर्ने योजना भारतले गरायो ।

राजतन्त्र विरुद्ध ६२/६३ सालको १९ दिने जन आन्दोलनले राजतन्त्र फाल्यो भने लोकतान्त्रिक गणतन्त्र मुलुकको उदय भयो । संविधानसभाको चुनाव भयो माओवादी पहिलो राजनीतिक दल भयो भने प्रचण्ड नयाँ नेपालको पहिलो प्रधानमन्त्री बने ।
प्रचण्ड सदा पद र शक्तिमा बस्न रुचाउने नेता हुन् । दोश्रो संविधानसभा चुनाव पश्चात पहिलो दल बनेको तत्कालीन माओवादी पार्टी फुट्दै तेस्रो दल बन्यो ।
तेस्रो दल भए पनि प्रचण्डले अनेक रणनीति अपनाएर पद र शक्तिमा रहे । प्रचण्डले अनुमान लगाइ सकेका थिए आउदो २०७४ सालको चुनाव पछि माओवादी पार्टी तेस्रो बन्न पनि निकै कठिन हुन्छ भन्ने कुरामा त्यसै अनुरुप उनले कहिले नेपाली काङ्ग्रेस सँग सौदावाजी गरे त कहिले एमाले सँग ।

स्थानीय तहको चुनावमा काङ्ग्रेस सँग मिलेर चुनावमा गए भने संसदीय चुनावमा बाम गठबन्धन नै गरे । माओवादी जनयुद्ध लडेको गौरव शाली पार्टी हो भन्दै भाषण गर्ने प्रचण्डले अहिले पार्टीको नामोनिसान नहरने गरि पार्टीको दाहसंस्कार गरेर आफू नेकपाको दुई अध्यक्ष मध्य एक भएर बसे ।

प्रचण्डले सशक्त जनयुद्ध लडेका आफ्ना सहकर्मीहरु किरण , भट्टराई , विप्लव जस्ता नेतालाई समेटेर इतिहास बोकेको एउटा बलियो पार्टी बनाउनेतर्फ कहिल्यै लागेको देखिएन । पद र सत्ताको लागि मात्रै भागदौड गरेको बुझियो । विगतमा प्रचण्ड भनेको सफल क्रान्तिकारी लिडर हो भनेर सारा जगतले मान्ने गर्थ्यो। प्रचण्डको नाम लिदा गर्व मान्थे , एक खालको डर थियो ।

प्रचण्डको उचाई त्यहाँ थियो तर आज यहाँ सम्म आउँदा शेर बहादुर देउवा र प्रचण्ड बीचमा केही भिन्नता देखिएन । प्रचण्ड प्रती आम नागरिकले जुन अपेक्षा राखेका थिए त्यसको १% प्रतिशत पनि उनीमा पाइएन ।

जनताको भावना मर्म बुझ्ने प्रयास कहिल्यै गरेनन् । बरु काङ्ग्रेस र एमाले सँग तालमेल मिलाएर बुहारीलाई मन्त्री र छोरीलाई महानगरपालिकाको मेयर बनाए र आम नागरिकलाई देखाइ दिए के हो त प्रचण्ड पथ भनेर।

अहिलेको समयलाई हेर्दा यस्तो देखिन्छ प्रचण्डले नेकपा सँग पार्टी एकता गर्नु कृत्रिम थियो । स्वार्थ थियो । प्रचण्डले सार्वजनिक रूपमा वलीको कार्यकाल पाँच बर्ष , पुरै हुन्छ भनेर भनेपनी ब्यवहारमा त्यस्तो देखिएन । प्रचण्ड पार्टी अध्यक्ष हुन् उनले केपी वलीको राजिनामाको बिसयमा आधिकारिक धारणा नराख्नु भनेको उनले नै खेलेको खेल नहोला भनेर भन्न सकिदैन ।

वलीले अध्यादेश ल्याउनु अनि सार्वजनिक रूपमा नेपालको अतिक्रमित भूमि समेटेर नक्सा जारी गर्दा मलाई प्रधानमन्त्रीबाट हटाइने षडयन्त्र भएको भनेर अभिव्यक्ति दिनु यो सामान्य कुरा होइन ।

घुमाउरो पारामा प्रचण्ड आज सम्म पनि भारतबाट परिचालित छन् भनेर भन्न खोजिएको हो । दुई तिहाईको सरकारलाई कसले हटाउन सक्छ ? पार्टी भित्रै आन्तरिक रूपमा ठुलै चलखेल हुदै छ भनेर बुझ्न सकिन्छ ।

आउने २०७९ सालको निर्वाचन पछि प्रचण्ड कस्तो पदमा हुन्छन् ? निर्वाचन पछि उनी प्रधानमन्त्री हुन्छन् भन्ने कुनै आधार ग्यारेन्टी केही छ त ? २०७९ सालको निर्वाचन पश्चात उनी नेकपाको एकलौटी पार्टी अध्यक्ष हुन्छन् भन्ने आधार पनि त छैन ।

उनी जस्तै वली , गौतम , नेपाल र खनाल जस्ता नेताहरू पनि त छन् ।  प्रचण्डले शेर बहादुर देउवा सँग गठबन्धन गर्दा काङ्ग्रेसलाई घात भयो भनेर आरोप आएकै हो । तत्कालीन एमाले सँग गठबन्धन गर्दा अहिले एमाले र माओवादी भन्ने राजनितीक दल नै नेपालमा छैन ।
नेकपा भित्र घिनलाग्दो किचलो छ । दुई तिहाईको सरकारमा पद र सत्ताको मात्रै खेल छ । प्रचण्डको भावी राजनीतिक यात्रा कस्तो हुन्छ त्यो समयले देखाउला तर प्रचण्ड जनयुद्ध काल देखि अहिलेको वर्तमान समय सम्म आइपुग्दा उनिको त्यो उचाइ सतहमा आएको चाहिँ पक्कै हो । प्रचण्डलेआत्मा आलोचना गर्नुपर्छ ।
कहाँ गए आफुलाइ राजनीति सिकाउने गुरु कमरेड किरण ? किन छुटे विप्लव र भट्टराई ? के थियो जनयुद्धको एजेन्डा ? के हुदैछ सहितको सपना ? कता पुगे लडाकु ? किन मासियो गौरव शाली पार्टी माओवादी ? र किन हुदैछ नेकपा भित्र किचलो ? प्रचण्ड सफल क्रान्तिकारी नेता होलान् तर सफल नेता हुन् भनेर भन्ने आधार रहेनन् ।

Leave a Reply