पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङस्थित जनप्रिय माविले सेवा क्षेत्र भित्र घुम्ती कक्षा सुरू गरेको छ । कोरोना भाइरसको जोखिमसँगै विद्यालय बन्द भएपछि घरमै बसेका विद्यार्थीको पढाइ प्रभावित भएपछि जनप्रिय माविले आधारभुत र मावि तहका विद्यार्थीलाई लक्षित गरी नियमित घुम्ती शिक्षा सुरू गरेको हो ।

लामो समयको लकडाउनले विद्यार्थीको पठनपाठनमा गम्भीर असर गरेसँगै सबै विद्यार्थीको हातमा नयाँ पुस्तक पुगेलगत्तै घुम्ती शिक्षा सुरू गरिएको विद्यालयका प्रधानाध्यापक दिवाकर सुबेदीले बताए ।

‘विद्यार्थीको उत्साहजनक उपस्थिती छ,‘सेवाक्षेत्रमै हाजिरी गछौं’ सुबेदीले भने । उनले तहगत कक्षा सञ्चालन भइरहेको बताए । उनले कक्षा ६–१० को विषयलाई बैकल्पिक कार्यतालिका बनाई सञ्चालन गरिएको बताए ।

उनले अभिभावकलाई समेत फुर्सदको समय मिलाएर छोराछोरीको पठनपाठनको अवलोकन गर्न अनुरोध गरिएको बताए ।

घर आसपासका क्षेत्रमा विद्यालयको कक्षा सञ्चालन हुन थालेपछि विद्यार्थी समेत उत्साहित भएका छन् । ‘पढाईको चिन्ता थियो, सरहरूले नियमति कक्षा सञ्चालन गरेपछि सहज भएको छ’ कक्षा ९ मा अध्ययनरत निस्कोट छिसका जितेन्द्र पुनले भने ।

उनले घुम्ती कक्षामा सहज पठनपाठनको ब्यवस्था रहेको बताउँदै अतिरिक्त समयमा कोरोना भाइरस लगायतका बारेमा समेत शिक्षकमार्फत जानकारी लिने गरेको बताए । कोरोना भाइरसको जोखिमसँगै सरकारले लकडाउन घोषणा गरेको ६ दिन अघिदेखि अर्थात् चैत ५ गतेदेखि विद्यालय बन्द भएको थियो ।

विद्यालयले सेवा क्षेत्रभित्र ८ वटा स्थानमा कक्षा सञ्चालन गरिरहेको छ । लामो समयसम्म घर बस्दा दिक्क भएका विद्यार्थी नियमित पुस्तक लिएर कक्षामा जाने गरेका छन् । म्याग्दीमा स्थानीय तहले लकडाउन खुकुलो हुदाँसम्म प्रभावकारी योजना बनाउन नसकिरहेको अवस्थामा विद्यालयले योजना बनाएर धमाधक कक्षा सञ्चालन गरेका हुन् ।

घुम्ती कक्षामा विषयगत शिक्षकहरुले नियमित पठनपाठन सुरु भएपछि समेत पुनः पाठलाई दोहोराउने छन् । म्याग्दी जिल्लामा निकै कम विद्यालयले लकडाउनमा घुम्ती शिक्षा सञ्चालन गरेका छन् ।

Leave a Reply