भिरालो पहाडको टुप्पोमा अवस्थित म्याग्दीको धार्मिक तथा पर्यटकीयस्थल मालिकाधुरीमा देवी–देवताको कलात्मक मुर्ति बनाइने भएको छ । समुन्द्र सतहदेखि करिव ३३ सय मिटरको उचाईमा अवस्थित मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा रहेको मालिकाधुरीमा प्राकृतिक ढुङ्गाहरुलाइ कुदेर विभिन्न आकृतिका मूर्ति बनाउने गरी बजेट समेत विनियोजन गरेको छ ।

मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ बर्षमा गाउँपालिका भित्र रहेका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरूको प्रचारप्रसार र पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेर मठमन्दिरमा २० लाख बजेट विनियोजन गरेको उपाध्यक्ष खरमायाँ विटालुले बताईन् ।

‘सबै वडाभित्रका धार्मिक गन्तब्यलाई बजेटमा समेटिएको छ,‘पूर्वाधारले नै पर्यटकलाई आर्कषित गर्ने योजनामा छौ’ बिटालुले भनिन् । गाउँपालिका भित्रका सातवटै वडामा रहेका धार्मिक तथा पर्यटकीय गन्तब्यको पूरानो परिचयलाई स्थापित गर्नेगरी मुर्ती सपिहत पूवा्र्रधारहरु विस्तार गरिने उपाध्यक्ष बिटालुको भनाई छ ।

घुम्नैपर्ने पर्यटकीय गन्तब्यको सूची बनाउने, भ्रमणको रोजाईमा रहेका पुराना गन्तब्य र नयाँ र सम्भावना भएका गन्तब्यलाई प्राथमिकतामा राखेर गाउँपालिकाले पूर्वाधार सहितको योजना तयार गरेको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

‘पर्यटकलाई आकर्षित गर्ने गरी मूर्ति बन्नेछन्,‘एकपटक मालिका घुम्न जानैपर्ने गन्तब्य बनाउँछौ’ रोकाले भने। उनले लोभलाग्दो आकृति बनाएपछि यो क्षेत्र धार्मिक बाहेक आन्तरिक तथा बाह्य पर्यटकरुको रोजाईमा समेत पर्ने उनले बताए ।

दरबाङ–बिम हुदै विस्तार गरिएको सडकलाई मन्दिरभन्दा तलसम्म पुर्याएर त्यहाँबाट पदमार्गको प्रयोग गरी मन्दिरसम्म पुग्ने बनाइएको छ । पदमार्गमा प्रदेश सरकारबाट ५० लाख विनियोजन भएकोमा चालु आवमा ४० लाखको काम सम्पन्न भएको छ।

पुराना ओडारलाई बस्ने बासस्थानको रुपमा संरक्षण गरिने छ भने सत्तल, खानेपानी, शौचालय र हेलिकप्टरमा आउनेलाई हेलिप्याड समेत बनाउने गाउँपालिकाले जनाएको छ । आफ्नो मनोकामना पुरा गर्न हरेकबर्ष पूजा हुने मन्दिरमा दर्शन गरे मालिका, जालपा, कालिका देबीको शक्ति प्राप्त हुन्छ भन्ने विस्वास समेत रहेको छ ।

मालिकाबाट धौलागिरी, निलगिरी अन्नपूर्ण, मनास्लु, माछापुच्छे, गुर्जा, चुरेन,पुथा लगाएतका दर्जनौ हिमश्रंखला समेत अवलोकन गर्न सकिन्छ ।

सदरमुकाम बेनीबाट पैदलयात्रा हुदै मालिका मन्दिरसम्म पुग्न चाहनेलाई समेत बेनी–अर्थुङ्गे–पुलाआश्रम– जगन्नाथ–टोड्के हुदै मालिकासम्म जाने पदमार्गको निर्माणकार्य समेत भइरहेको छ भने पुरानो संरचनाबाट समेत सहजै आवतजावत गर्न सकिन्छ ।त्यस्तै रघुगंगा गाउँपालिकाको झिँ, पाखापानी, ठाडाखानी, मंगला गाउँपालिकाको कुहँु, थाईवाङ,हिँदी र मालिका गाउँपालिकाको दरवाङ, उपल्लो दुखु हुदै मालिका पुग्न सकिन्छ ।

Leave a Reply