व्यस्त जीवनशैलीबाट ह्याङआटउन हुन उपयुक्त एउटा हिलस्टेशन हो–भेडीओढार। नेपाल सरकारले  प्रवद्र्धन गर्न छानेका सय गन्तव्यको सूचीमा ‘रुइसे–भेडिओढार–धौलागिरि आइसफल पदमार्ग’ पनि छ। भेडीओढारबाट हिमाली सौन्दर्य, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य देखिन्छ।

रघुगंगा गाउँपालिका–२ मा पर्ने भेडीओढार (२,५०० मिटर)। म्याग्दीका पुनहिल, झाँक्रीपानी, टोड्के, ताकमकोट, खयरभारानी, करबाकेली, मालिका र भेडीओढार सुन्दर हिलस्टेशन हुन्।

हिउँदमा डाँडाको ओढारमा भेडा राखिन्छ। त्यही भएर भेडीओढार भनिएको। ओढारको शिरानमा विशाल ढुंगा छ। त्यसमा रेलिङ र छत राखेर भ्यू पोइन्ट बनाइएको छ। त्यहाँ बसेर चुरेन, गुर्जा, धौलागिरि, अन्नपूर्ण, निलगिरि र माछापुच्छ्रे हिमालको दर्शन गर्न सकिन्छ ।

भ्यू पोइन्टबाट ५ मिनेट हिँडेमा जंगल छिचोलेर डिलमा पुगिन्छ। डिलबाट हिमाल झनै नजिक देखिन्छन्। अचेल बेनी बजार, बागलुङ, कुश्मा र पोखरातिरबाट भेडीओढार क्षेत्र घुम्नेहरूको चहलपहल बढ्दै छ । भेडीओढारको बेस क्याम्प रुइसे क्षेत्रमा स्थानीय गाउँपालिकाले भ्यू टावर बनाएको छ। टावर बनाएको क्षेत्रसम्म मोटर बाइक र जिप लान सकिन्छ ।

रुइसे (२,२०८ मिटर)मा रात बसेर बिहानै एक घन्टा उकालो चढेर भेडीओढारमा हिमालय अवलोकन गर्न सकिन्छ। रुइसेमा एउटा होटल छ। स्थानीय कमला शाहीको होटलमा सामान्य खाना र बास पाइन्छ।

रुइसे पुग्न बेनीबाट गलेश्वर हुँदै उकालो लाग्नु पर्छ। भेडीओढार यात्रामा निस्कँदा बीच बाटोमै पर्ने राखु भगवतीको दर्शन गर्न पाइन्छ। त्यस्तै बेनीबाट ३ किमि दूरीमा गलेश्वरधाम छ। गलेश्वर दर्शन गरेर उकालो चढे मनमा प्रसन्नता छाउने छ।

गाउँपालिकाले टोड्के र रुइसेलाई प्राथमिकतामा राखेको छ। उसले रुइसे क्षेत्रका गाउँहरू सिजल, साझापानी र बेग सिरुबारीमा होमस्टे गराउने योजना बनाएको छ।

सुझाब:भेडीओढारसहित म्याग्दी जिल्लाका अन्य गन्तव्यहरू भ्रमण गर्दा म्याग्दीका पर्यटन अभियन्ता राजेश शाक्यलाई ९८५७६२४६०१ मा सम्पर्क गरेमा आबश्यक जानकारी लिन सजिलो हुन्छ है!

कसरी पुग्ने: काठमाडौं–बेनी २८८ किमि, बसमा ९ घन्टा । बेनी–गलेश्वर–रुइसे १७ किमि, जिपमा दुई घन्टा। बेनीबाट रुइसेसम्म रिर्जभ्ड जिप वा मोटर बाइकमा । रुइसे–भेडि ओढार १ घन्टा पदयात्रा । Source: barnanmedia.com

Leave a Reply