बेनी नगरपालिका-९, स्यालीखेतको चौतारीमा लस्करै प्लाष्टिकको कुर्चीमा विद्यार्थी बसेका छन्। विद्यार्थीलाई शिक्षकले कोरोनाबाट जोगिने उपायहरूका बारेमा जानकारी गराएपछि किताब निकालेर नियमित पठनपाठन सुरू गर्छन्। हरेक दिन चौतारीमा कुर्चीमा बसेर पढ्ने गरेका विद्यार्थीको नियमित उपस्थिति समेत उठाउने गरिन्छ। कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेलगत्तै विद्यालयमा पठनपाठन बन्द भएपछि बैकल्पिक शिक्षण सिकाई अन्तरगत सेवा क्षेत्रको टोल–टोलमा पुगेर सर्वेक्षण गरेपछि सुरू गरेको पठनपाठन प्रभावकारी देखिएको छ । नयाँ पुस्तक, कापी– कलम लिएर तोकिएको स्थानमा पुग्ने विद्यार्थीले कुर्ची, गुन्द्रीमा बसेर पढ्ने गरेका छन् ।

‘हामीले टोल–टोलमा पुगेर विद्यार्थीलाई सिकाइमा प्रोत्साहन गरिरहेका छौ,‘पायक गर्ने ठाउँलाई केन्द्र बनाएपछि सहज भएको छ’ विद्यालयका प्रधानाध्यापक गणेश बानियाँले भने ।

आफ्ना छोराछोरीले पढ्ने स्थानमै पुगेर अभिभावकले समेत गृहकार्य धेरै दिन शिक्षक–शिक्षिकालाई आग्रह गर्ने गरेको प्रअ बानियाँको भनाई छ । विशेष गरी गणित, विज्ञान र अंग्रेजी विषयमा टिभी, रेडियो हेरेर पढ्न समेत अनुरोध गरिएको उनले बताए ।

पाठ्यपुस्तक बाहेक फिल्डमा आधारित विषयबस्तुको ज्ञान समेत प्रदान गर्ने गरेको उनले बताए । लकडाउनले घरमै बसेका विद्यार्थीले घुम्ती कक्षा सुरू भएपछि तोकिएको केन्द्रमा अभिभावकले समेत पु¥याउने गरेको विद्यालयका शिक्षक मुकुन्द रेग्मीले बताए ।

उनले गृहकार्य जाँच्न गर्ने, कक्षाकोठामा जस्तै नियमित पठनपाठनका साथै सरसफाई लगायत आनिवानीका बारेमा समेत जानकारी गराउने गरेको बताए ।‘विद्यार्थीलाई अभ्यास समेत गराइन्छ,‘हामीले सोचेभन्दा राम्रो भएको छ’ रेग्मीले भने । बेनपा–९ र १० मा कार्यक्षेत्र रहेको विद्यालयले ८ वटा समुहमा शिक्षकलाई विभाजन गरेको छ ।विषयगत शिक्षकहरूको कार्यतालिकालाई असर नगर्ने गरी समुह विभाजन गरिएको विद्यालयले जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण न्यूनीकरण तथा नियन्त्रणका लागि भन्दै सरकारले चैत्र ११ बाट लकडाउन घोषणा गरेपछि वार्षिक परीक्षा सकाएर घर बिदामा बसेका विद्यार्थीहरुलाई विभिन्न माध्यमबाट वार्षिक परीक्षाको रिजल्टको मार्कसिट पठाइपनि लामो समय पठनपाठन बन्द हुदाँ विद्यार्थीको पढ्ने रुची घट्ने भन्दै विद्यालयले अभिभावकलाई समेत सहमतिमा ल्याएर टोल–टोलमा कक्षा सुरु गरेको हो ।

विद्यार्थीको नामावली संकलन गर्दै पाठ्यपुस्तक समेत वितरण गरिसकिएको छ । टोल–टोलमा पुग्ने शिक्षकको मोवाइल नम्बर समेत विद्यार्थीलाई दिइएकाले नबुझेका कुरा फोन, म्यासेन्जरमा सोध्न सक्ने विद्यालयले जनाएको छ ।

बेनी नगरपालिकाको शिक्षा शाखाले लकडाउनको अवस्थामा बैकल्पिक शिक्षा सम्बन्धि विभिन्न विकल्पका बारेमा सरोकारवाला निकायसँग राय मागेर कक्षा सञ्चालनको प्रस्ताव गरेपनि जोखिमको जिम्मा लिन नसक्ने भन्दै निर्णय नभएपछि केही विद्यालयले अभिभावकलाई नै सहमतिमा ल्याएर कक्षा सञ्चालन गर्न थालेका छन् ।

नेपला सरकारले तयार गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका–२०७७ बमोजिम’ विद्यार्थीको निगरानी गरेर सदरमुकाम बेनी सहित ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयले सिकाइ प्रणाली सुरु गरेका छन् ।

Leave a Reply