आज र भोली दुई दिन देशभरका पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ। आज खान छुटेका बालबालिकालाई भोलि खुवाउन स्वास्थ्य सेवा विभागको पोषण शाखाले सबै अभिभावकहरुलाई अनुरोध गरेको छ। आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन सकिने छ।

सरकारले गएको ६ र ७ वैशाखमै बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने तयारी गरेको थियो।तर कोरोना भाइरसको महामारीका कारण यो कार्यक्रम स्थगित भएको थियो।

सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम देशव्यापी रुपमा सञ्चालन गर्दै आएको छ।

बालबालिकालाई भिटामिन ए, जुकाको औषधि र बालभिटा पनि खुवाउने गरिन्छ। जुकाको औषधि भने एक वर्षभन्दा माथिका बालबालिकालाई मात्र दिने गरिएको छ।

छ महिनादेखि पाँच वर्ष मुनीका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न सरकारले २०५३ सालबाट भिटामिन ए कार्यक्रम सन्चालन गर्दै आएको छ। बालभिटा भने २०६६ देखि खुवाउन थालिएको हो।

Leave a Reply