म्याग्दीका ट्याक्सी ब्यवसायीले लकडाउनको अवधिको बैंकको किस्ता र ब्याजको भाका सार्न अनुरोध गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) को जोखिमसँगै ट्याक्सी ब्यवसाय पूर्णरुपमा बन्द भएपछि परिवारको रोजिरोटी समेत खोसिएको भन्दै कर्जा र ब्याजको समयसिमा कम्तिमा ६ महिना थपको अनुरोध गदैं जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाएका छन् ।

बेनी यातायात प्रालिका अध्यक्ष टिक प्रसाद पूर्जा र कालिगण्डकी यातायात प्रालिका अध्यक्ष भोजबहादुर थापा कुमारले प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालमार्फत गृहमन्त्रालयमा ज्ञापनपत्र पठाउँदै तत्काल ब्याज र किस्ता तिर्नु नसक्ने भन्दै निरन्तर ताकेता गरिए कागजपत्र र चावी बैंकमा बुझाउने बताए।

ज्ञापनपत्रमा लकडाउनको अवधिमा तिनुपर्ने किस्ता र ब्याजलाई सुन्य समय मान्दै पूर्णरुपमा लकडाउन खुलेपछि तिर्ने, लकडाउनको अवधिमा समय पुगेको सवारीसाधनको बिमा समयावधी थप गर्ने, बेनी नगरपालिकालाई तिदैं आएको काउन्टर भाडा, पार्किङ शुल्क मिनाह लगायतका माग गरिएको छ । सोही अवसरमा प्रजिअ ढकालले ब्यवसायीको माग सम्बन्धित निकायमा पठाउने बताए ।

व्यवसायीका मोवाइलमा बैंक तथा वित्तिय संस्थाबाट म्यासेज र घण्टी बज्न थालेपछि बाध्य भएर ज्ञापनपत्र बुझाएको बेनी यातायात प्रालिका कार्यालय सचिप अनिल पौडेलले बताए । प्रालि अन्तरगत म्याग्दीमा करिब २ सय ट्याक्सी सञ्चालनमा रहेका छन् ।

Leave a Reply