मास्क नलगाई घरबाहिर निस्किने र भौतिक दूरी कायम नगर्नेलाई तत्काल कारवाही गरिने भएको छ । गृहमन्त्रालयले प्रहरी कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेपछि म्याग्दीमा समेत थप कडाई गरिने भएको छ । लकडाउन खुकुलो भएसँगै कोरोनाको जोखिम समेत ह्वात्तै बढेपछि गृह मन्त्रालयबाट परिपत्र गरिएको हो ।

स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क बिना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न निर्देशन आएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बेनीअनलाइनलाई बताए । ‘यहाँ पहिले नै कडाई गरिएको थियो,‘यो परिपत्रले थप निगरानी बढाउँछौ’ प्रजिअ ढकालले भने ।

उनले प्रहरीलाई चेकपोष्ट सहित बजारमा गस्तीको क्रममा समेत मास्क र भौतिक दुरीलाई थप निगरानी राख्न निर्देशन दिइएको बताए । ‘मास्क नलाई बजारमा आउनेलाई तत्काल सचेत बनाउँछौ,‘अटेर गरे कारवाही समेत गछौं’ प्रजिअ ढकालले भने ।

बैंक तथा वित्तिय संस्था सहित अन्य सरकारी, निजी तथा गैरसरकारी संघसंस्थाले समेत भौतिक दुरीलाई कायम गर्नुपर्ने, मास्क नलगाई आवतजावत गर्नेलाई सेवा प्रवाह नगर्न समेत अनुरोध गरिएको छ ।

परिपत्रमा मास्क र भौतिक दुरीलाई उच्च प्राथमिकता दिन समेत अनुरोध गरिएको छ। मास्क नलाउने र अटेर गर्नेलाई तत्काल पक्राउ गरी संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न निर्देशन समेत दिइएको छ । यसैबीच सदरमुकाम बेनी बाहेक जिल्लाका ग्रामिण क्षेत्रमा रहेका बजारमा समेत आवतजावत गर्नेलाई समेत मास्क अनिवार्य गरिएको छ ।

पछिल्लो समय म्याग्दीमा विना मास्क आवतजावत बढेको छ । मास्क प्रयोग गर्ने र सुरक्षाका उपायहरुमा समेत बेवास्ता गरेपछि प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरको नेतृत्वमा बजारमा समेत पटकपटक अनुगमन समेत भएको छ । लकडाउनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै खुकुलो बनाउने नीति अनुसार अगाडी बढेपनि काठमाण्डौ उपत्यकमा समुदायमै कोराना फैलिएपछि देशभर सतर्कता अपनाइएको छ।

Leave a Reply