म्याग्दीका एक बोनम्यारो (रक्त क्यान्सर) पीडित आर्थिक अभावका कारण अस्पतालबाट घर फर्किएका छन्। उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५, पाउद्धारका ५० बर्षिया प्रसाद दमाईको बोनम्यारो संक्रमण भएर विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेको अवस्थामा आर्थिक सकिएपछि बाध्य भएर फर्किएका हुन् ।

ऋणधन गरी उपचारमा २५ लाखभन्दा बढी खर्च भएको बिरामीकी छोरी सर्मिला परियारले बताईन्।‘बुबाको उपचारमा खर्च गर्ने पैसा नै छैन्,‘अस्पतालमै राख्नुपर्ने अवस्थामा घर ल्याउन बाध्य छौ’ उनले भनिन्। हाल पर्वतको जलजला गाउँपालिका–२ बौरमा छोरीसँगै बस्दै आएका दमाईको उपचारमा करिब १२ लाख ऋण रहेको परिवारको भनाई छ।

पोखराको मणिपाल अस्पताल, काठमाण्डौका विभिन्न अस्पताल हुँदै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका दमाईको रोग पहिचान गर्दा नै पाँच लाख खर्च भएको थियो । ‘अहिलेसम्म आफै खर्च गरेका थियौं, अव सहयोग जुटाएर भएपनि बुबालाई बचाउन चाहन्छौ’ परियारले भनिन् । उनले बुबाको उपचारमा करिब ३५ लाख लाग्ने भन्दै जीवन बचाइदिन अपिल गरेकी छन् ।

पीडितका छोरा रोजगारको सिलसिलामा कुवेतमा छन् । बुबाको उपचारमा नियमित पैसा पठाउँदै आएका छोरा समेत लकडाउनका कारण अलपत्र अवस्थामा छन् । ‘‘बोनम्यारो प्रत्यारोपणका लागि पैसा जुटार आउन भनेपछि अस्पतालबाट फर्किएको छु,‘सहयोगबाट मात्रै मेरो उपचार सम्भव छ’ दमाईले भने ।

उनले उपचारमा ओमकुमारी शान्ति कोषले समेत सहयोगको प्रतिबद्धता जनाएकाले अन्य सहयोगी मनबाट समेत सहयोगको अपेक्षा गरेको बताए । पीडित दमाईको दुई छोरी एक छोरा छन् । दुबै छोरीको विवाह भइसकेको छ । बोनम्यारो प्रत्यारोपणन गरेमा विरामी बाँच्ने सम्भावना ७० देखि ७५ प्रतिशतसम्म हुने चिकित्सकको भनाई छ ।

प्रसाद दमाई बचाऔं अभियानमा सहयोगी मनहरुका लागि गरिमा विकास बैंकमा प्रसाद दमाईको नाममा खाता नं. ०२००१९ ०० ८२९ ६३६०००००१ मा रकम जम्मा गरिदिन आग्रह गरेको छ । साथै थप जानकारीका लागि प्रसाद दमाई ९८६९३६५१८९ र छोरी सर्मिला परियार ९८६१३३५६५८ मा सम्पर्क गर्न सकिन्छ ।

Leave a Reply