गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी-जोमसोम–कोरला सडकखण्ड ठाउँठाउँमा अवरुद्ध भएको छ। गएरातिदेखिको अविरल बर्षाका कारण उत्तरी म्याग्दी हुदै मुस्ताङ जोड्ने सडकखण्डको अन्नपूर्ण गाउँपालिका–२ तातोपानीको नागढुंगा, दानाको ढुवारी खोला, गुईठे र हिस्तानको महभीरमा सडक अवरुद्ध भर्एको छ ।

लगातारको वर्षा, भिरालो जमीन र कमजोर भू–बनावटका कारण सडक माथिबाट ढुङ्गामाटो सहितको लेदो पहिरो खस्दा सडक अवरुद्ध भएको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए । सडक अवरुद्ध भएपछि आवतजावत रोकिएको छ ।

सडक स्तरोन्नतिका लागि डोजर, स्काभेटर आदिको प्रयोग गरिएपछि वर्षाले हिलाम्ये हुँदा सानाठूला सवारीसाधन हिलोमा फस्ने गरेका छन् । सडकखण्डमा सामान्य वर्षामा समेत हिलाम्ये हुँदा यात्रा कष्टकर बनेको छ । बर्षा नरोकिएसम्म अवरुद्ध पन्छाउन समस्या भइरहेको छ ।

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर सडकखण्डअन्तर्गत सबैभन्दा जोखिमपूर्ण म्याग्दीको दानादेखि मुस्ताङको घाँसासम्म पर्छ । बर्खाको समयमा यात्रुल ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। यसैबीच पश्चिम म्याग्दी जोड्ने बेनी दरबाङ सडकखण्ड अन्तरगत विभिन्न स्थानमा समेत हिलाम्मे सडक र ठाडोखोलाले सवारीसाधन अवरुद्ध भएको छ ।

यता म्याग्दीमा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बर्षासँगै सडक अवरुद्ध भएकाले पैदल र सवारीसाधनमा आवतजावतमा ठूलो जोखिम रहेकाले सतर्कता अपनाउन अनुरोध गरेका छन् । बर्षासँगै जिल्लाका अधिकांस ग्रामिण सडकहरु समेत अवरुद्ध भएका छन् ।

Leave a Reply