नेपाल सरकारले सार्वजनिक यातायातलाई सम्बन्धित जिल्लाभित्र सञ्चालन गर्ने निर्णय गरेपछि म्याग्दीमा समेत शुक्रबारदेखि गरिने भएको छ ।

कोरोनाको जोखिमलाई मध्यनजर गरी गएको बर्षको चैत्र ११ गतेदेखि गरेको लकडाउनका कारण ग्यारेजमा थन्किएका सवारीसाधनलाई जिल्ला भित्र सञ्चालन गर्न पाउने निर्णय गरेपछि म्याग्दीका यातायात ब्यवसायीले समेत शुक्रबार आवश्यक तयारी गर्ने जनाएका छन् ।

बर्खाको समयमा ग्रामिण सडकहरु करिब बन्द अवस्थामा रहेकाले सञ्चालनको जोखिम रहेपनि यातायात ब्यवसायीले ढिलो गरिएको निर्णयलाई सकारात्मक रुपमा लिएको बताए ।

‘मर्नभन्दा बहुलाउन राम्रो भनेजस्तै निर्णय हो,‘ लकडाउनमा जहाँ पार्किङ गरिएको छ त्यही छन्,‘मर्मत, बिमाको समस्या उस्तै छ’ म्याग्दी यातायात ब्यवसायी कम्पनी प्रालिका अध्यक्ष लालबहादुर थापाले बताए । ‘महासंघबाट जानकारी प्राप्त भएको छैन्,‘हामीले शुक्रबार औपचारिक सेवाका बारेमा छलफल गदैंछौ’ थापाले बेनीअनलाइनलाई भने ।

बर्खाको समयमा म्याग्दी जिल्लाभित्रका मुख्य सडकमा समेत नियमित यातायातका साधन सञ्चालनमा समस्या हुने र ग्रामिण क्षेत्रमा असोजसम्म सवारीसाधन सञ्चालनमा नआउने भएकाले ब्यवसायीलाई ब्यवसायीक राहत नहुने उनको भनाई छ ।

यातायातका साधनलाई सरकारले स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने जनाएकाले मापदण्डले खर्च धान्न सक्ने वा नसक्ने विषयमा समेत यातायात ब्यवसायी अनविज्ञ छन् । म्याग्दी यातायात मातहतमा मात्रै १ सय ६० सवारीसाधन छन् ।

सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क लगाउनुपर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने र चालकले पन्जासहित मास्क पनि लगाउनुपर्ने मापदण्डमा छ । तोकिएको भाडादरको ५० प्रतिशत बढी भाडा लिन पाउने भएकाले सार्वजनिक सवारी साधन सञ्चालन गर्ने करिब निश्चित छ ।

यात्रुवाहक बसमा सिटको आधा मात्रै यात्रु चढाउन पाइनेछ। सिटको एक लहरमा एक जना मात्रै यात्रु राख्न पाउने छन् । शु्क्रबार जिल्ला प्रहरी कार्यालयमा यातायात ब्यवसायीसँग छलफल समेत रहेको छ । म्याग्दीमा ट्याक्सी, प्रालि अन्तरगत सञ्चालित स्करफियो लगायतका सवारीसाधन समेत सञ्चालनमा आउने छन् ।

Leave a Reply