पश्चिम म्याग्दीमा गएराती अविरल वर्षापछि एक्कासि आएको बाढीले वितण्डा मच्चाएको छ । भिषण बर्षासँगै शुक्रबार विहान आएको बाढीले म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङको रिखार भन्ने ठाउँमा कम्तिमा ११ जना बेपत्ता भएको अनुमान गरिएको छ ।मराङको घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना वेपत्ता भएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए । ‘कम्तिमा ११ जना भनिएको छ,‘उद्धारमा गएको प्रहरीको टोली बाटोमै फसेको छ’ प्रनाउ कुँवरले भने । उनका अनुसार मराङमा बेपत्ताको संख्या १० सम्म पुग्ने अनुमान गरिएको छ।पहिरोले आवतजावत गर्ने सम्पूर्ण मार्गहरु बन्द भएपछि पहिरोमै अलपत्र परेकाको उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दरबाङबाट गएको टोली पहिरोले बाटो अवरुद्ध भएपछि बाटोमै अलपत्र परेको छ भने स्थानीयले उद्धारको प्रयास गरेपनि सफल हुन सकेका छैनन् ।

प्रनाउ कुँवरका अनुसार स्थानीय धनबहादुर जुग्जाली र भिम जुग्जालीको घर पहिरोले बगाएको छ भने चार घर विस्थापित भएका छन् । बेपत्ता हुनेमा भिम र धनबहादुरको घरका ७ जना रहेको छ । भिरालो जमिन, भूमिगत पानी र कमजोर वनावटका कारण पहिरोले बगाएको स्थानीयको भनाई छ ।

यसैबीच मराङकै कल्लेनीको घारखोलामा आएको बाढीले परदेवी र वीरबहादुरपुनको घर बगाएको वडा अध्यक्ष राजाराम पौडेलले बताए ।

उनका अनुसार थप क्षतीको विवरण संकलन भइरहेको बताए । यता मालिका गाउँपालिका–७ बिम आसपासमा समेत पहिरोले क्षती पुगेको छ । यसबैची म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले बेनी–जोमसोम सडक जोड्ने बेलिब्रिज बगाएको छ।

गएराती अविरल वर्षापछि एक्कासि आएको बाढीले गलेश्वर–पिप्ले जोड्ने बेलिब्रिज बगाएको हो। बेलिब्रिजसँगै गलेश्वर पारीको बस्ती नै नदी कटानको उच्च जोखिममा परेको छ ।

बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउपालिका–३ राहुघाटको सिमानामा पर्ने पुल बगाएसँगै रघुगंगा र अन्नपूर्ण गाउँपालिका सहित मुस्ताङ आवतजावत गर्ने सडकमार्ग सम्पर्क विच्छेद भएको छ । एक्कासी नदीमा आएको बाढीले सडक कटान गरेपछि बेलिब्रिज बगाएको स्थानीय मिम थकालीले बताए । नदी कटानसँगै तटिय क्षेत्र आसपामा बसोबास गर्नेलाई त्यहाँबाट हटाइएको छ ।

Leave a Reply