म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमबाट तीनजनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । शुक्रबार बिहान गएको पहिरोमा घाईते भएका धवलागिरी गाउँपालिका–६ मराङकी २२ बर्षिया मञ्जिता सिर्पाली र निजका छोरा ७ बर्षिया सफल सिर्पालीलाई उद्धार गरी बेनी अस्पतालबाट पोखरा रिफर गरिएको छ ।

मञ्जिता गर्भबती अवस्थामा एक्कासी पिसाव रोकिएपछि उद्धार गरिएको हो । त्यस्तै मालिका गाउँपालिका–७ बिमबाट पूर्णबहादुर नेपालीको उद्धार गरिएको छ । पहिरोमा गम्भीर घाईते भएका सिर्पालीको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

पहिरोस्थलमा फसेकोका राहत तथा उद्धारका लागि निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसी र ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यको निजी लगानीमा हेलिकप्टरको ब्यवस्था गरिएको थियो ।

हेलिकप्टरबाट प्रतिनिधि सभाका सदस्य भुपेन्द्रबहादुर थापा, संविधानसभा सदस्य नवराज शर्मा, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल र प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरको टोलीले पहिरोस्थलको अवलोकन समेत गरेको छ । मराङ र बिममा गरी ३१ जना बेपत्ता भएकोमा बिममा ५ जना र मराङमा ८ जनाको शब भेटिएको छ । पहिरोस्थलबाट दिनभरीका उद्धार कार्यले निरन्तरता पाउने जनाइएको छ ।

Leave a Reply