म्याग्दीमा थप छ जना कोरोना संक्रमित उपचारपछि निको भएर आज घर फर्किएका छन् । भारत, साउदीअरब र कुबेतबाट आएर बेनीको क्वारेन्टाइनमा रहेको बेला कोरोना संक्रमणको पुष्टि भएका छ जना आईसोलेसन अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

डिस्चार्ज हुनेहरुमा भारतबाट आएका बेनी नगरपालिका–४, सिङ्गाका १८ वर्षीय पुरुष, मंगला गाउँपालिका–१, कुहुँका २३ वर्षीय पुरुष र कुबेतबाट आएकी धवलागिरी–६, मराङको ४० वर्षीय एक महिला रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

यसैगरी भारतबाट आएका उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–२, राखुभगवतीको ३० वर्षीया एक महिला र उहाँको ९ वर्षीया छोरी तथा राखुभगवतीकै साउदीअरबाट आएका २७ वर्षीय पुरुष पनि डिस्चार्ज भएको उहाँले बताउनुभयो ।

उनीहरु यसअघि जेठ र असार महिनामा विदेशबाट म्याग्दी आएर बेनीको क्वारेन्टाइनमा बसेका थिए । उनीहरुलाई शनिबार एक कार्यक्रमको आयोजना गरी विदाई गरिएको हो । डिस्चार्ज भएकालाई विदाई गर्दै प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाले घर फर्किए पनि आवश्यक सुरक्षा सावधानी अपनाउन सुझाव दिनुभयो ।

म्याग्दीबाट हालसम्म ५ सय एकवटा नमुना सङ्कलन गरी पिसिआर जाँच गर्न पठाइएकोमा ४ सय ४७ वटा नमुनाको रिपोर्ट आएकोमा त्यसमध्ये ४ सय १४ वटाको नेगेटिभ र ३३ वटा नमुनाको रिपोर्ट पोजिटिभ आएको छ । अब ५४ वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

यसैबीच पछिल्लो तथ्याङ्क अनुसार अन्नपूर्ण–६, घारका ३० वर्षीय एक पुरुष र रघुगंगा–३, राखुपिप्लेका ३० वर्षीय अर्का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले उनीहरुलाई पनि बेनीको आईसोलेसनमा राखेर उपचार सुरु गरिएको निमित्त प्रमुख लम्सालले बताउनुभयो ।

म्याग्दीमा अहिले कोरोना संक्रमितको कुल सङ्ख्या २४ पुगेकोमा १९ जना पुरुष र ५ जना महिला रहेका छन्भने तीमध्ये १६ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् । अहिले आइसोलेसनमा एकजना महिलासहित ८ जना रहेकोमा उनीहरुको स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार भैरहेको छ ।
हाल सदरमुकाम बेनीस्थित रहेका तीनवटा क्वारेन्टाइनमा कुल १ सय ५७ जना रहेकोमा ५ जना महिला र १ सय ५२ जना पुरुष रहेको कोभिड–१९ कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिनुभयो ।

Leave a Reply