भिरालो जमिन, कमजोर माटो, भूमिगत जलप्रवाह, बस्ती नजिकबाट सडक विस्तार लगाएत विभिन्न कारण म्याग्दी बाढीपहिरोको उच्च जोखिममा छ । बर्षेनी बाढीपहिरोबाट ठूलो जनधनको क्षती हुने गरेको छ । कुल २ हजार २९७.०६ वर्ग किमीं क्षेत्रफलबाट ३७ लाख ४५ हजार, ६९० घन मिटर मलिलो माटो बग्ने गरेको कारण ग्रामिण क्षेत्रमा ठूलो परिमाणमा भू–क्षय र पहिरो जाने गरेको तथ्याङ्क यसअगाडी पनि पटकपटक सार्वजनिक हुने गरेको थियो ।

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ र मालिका–७ बिममा पहिरोले ठूलो मानवीय क्षती पुगेको छ । ठूला र पुराना पहिरोसँगै हरेक बर्ष नयाँ पहिरोले मानवीय क्षती र सयौंको संख्यामा विस्थापित हुनुपर्ने बाध्यता छ । बाढीपहिरो प्रभावित क्षेत्रका बासिन्दाहरू चरम पीडाबोधको असामान्य अवस्थामा छन् ।

प्राकृतिक विपत्तिसँग जुध्न तीनै तहको सरकारले प्रभावकारी अभियान सञ्चालन गर्नुपर्नेमा म्याग्दीलाई हेर्न गरी पहुँचका आधारमा भू तथा जलाधार ब्यवस्थापन कार्यालय पर्वतमा राखिएको छ । जिल्लाभर काम गर्ने गरी फिल्ड कार्यालय तोकिएको म्याग्दीमा सहायक भु– संरक्षण अधिकृत सम्भुकुमार मिश्र मात्रै छन् । म्याग्दी र मुस्ताङलाई पर्वतबाट फिल्ड तोकिएपछि बाढीपहिरो प्रभावित क्षेत्रमा कार्यालयबाट प्रभावकारी काम हुन सकेको छैन्।

साविकको जिल्ला भु–संरक्षण कार्यालयबाट म्याग्दीमा करिब ५ करोडभन्दा धेरै बजेटले विपद् ब्यवस्थापन, जोखिमपूर्ण क्षेत्रमा संरक्षण सहितका समुदायमा आधारित कार्यक्रमहरु गर्ने गरेको अवस्थामा अहिले म्याग्दीमा चालु कार्यक्रम अन्तरगत खोला, नदी तथा पुल, किसानसँग भु संरक्षण, क्षतीग्रस्त भूमि लगायतमा १ करोड ८० लाख र पर्यटन पूर्वाधार अन्तरगत १ करोड ६० लाख बजेट रहेको भू तथा जलाधार ब्यवस्थापन कार्यालय म्याग्दी फिल्ड कार्यालयका सहायक भु संरक्षण अधिकृत मिश्रले बताए ।

‘विगतमा जस्तो काम गर्न सक्ने जनशक्ती छैन्,‘हामीले समुदायमा आधारित कार्यक्रमहरुलाई प्राथमिकता दिएका छौ’ मिश्रले भने । उनले बाढीपहिरो प्रभावित क्षेत्रमा करोडौंको योजना आवश्यकता रहेकाले फिल्ड कार्यालयबाट सम्भव नभएको बताए । साविकको धौलागिरी अञ्चल भित्रका चार जिल्लामा म्याग्दी बाढीपहिरोको उच्च जोखिममा रहेको जिल्लामा पर्छ । जिल्लाबाट कार्यालय हटेपछि नयाँ भवन बेनी नगरपालिकाले प्रयोग गरिरहेको छ ।

विनाशमैत्री सडक, बस्ती माथिको क्षेत्रमा विकास निर्माणका गतिविधि, नदीखोलाको कटानीले आधादशक अगाडीसम्म सामान्य पहिरोलाई उचित रोकथामको अभावले बस्ती नै उच्च जोखिममा छन् ।जिल्लाको कुल बर्ग किलोमिटरमा प्रतिबर्ष बग्ने मलिलो माटोले जिल्ला बाढीपहिरोमा उच्च जोखिममा रहेको देखिएको छ ।

जिल्लामा ३० भन्दा बढी ठूलो पहिरो र सयौंको संख्यामा रहेका मध्यम तथा साना पहिरोले करिव एक हजार र बाढीले १२ सय ५० घरधुरी जोखिममा रहेको तथ्याङ्कले देखाउँछ । पहिरोले १ हजार ३४.१ हेक्टर क्षेत्रफल ओगटेको छ । नयाँ तथ्याङ्क संकलन गर्ने स्थानीय तहसँग जनशक्ती छैन् भने संघ र प्रदेश सरकारले पहुँचका आधारमा आफ्नो जिल्लाका कार्यालय लैजानै होडबाजीको चपेटामा म्याग्दी परेको छ ।

कमजोर र भिरालो भू–बनोट,भौगर्भिक स्थिति,भूकम्पिय गतिविधि,छोटो समयमा हुने अधिक वर्षा, बनजंगलका विनास,अवैज्ञानिक भू–उपयोग,ंवातावरणिय सोच विना संचालन गरिने विकास निर्माण र बर्षात्को भलपानीको उचित ब्यवस्थापन नहुदाँ बाढीपहिरोले म्याग्दीका सबै ६ वटै स्थानीय तहका ४५ मध्ये ३७ वडा बाढीपहिरोको जोखिममा रहेको म्याग्दी फिल्ड कार्यालयले जनाएको छ । जिल्लामा कार्यालय ल्याउन कर्मचारीबाटै विगतमा पटकपटक प्रयासको अनुरोध गरिएपनि सुनुवाई हुन सकेको छैन् ।

Leave a Reply