म्याग्दीको विभिन्न स्थानमा पहिरोमा परी बेपत्ता भएकामध्ये थप एक जनाको शव भेटिएको छ । आइतबार थप एक जनाको शव फेला परेसँगै मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । आइतबार बिहान प्रहरीले धौलागिरी –६, मराङका खिमबहादुर जुग्जालीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकृत इन्सपेक्टर डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीको अगुवाईमा गण्डकी प्रदेश सरकार, बेनीमा रहेको सामाजिक संस्था ओमकुमारी शान्ति कोष समेतले ५० थान त्रिपाल, ४२ वटा ब्ल्याङ्केट, म्याट र कम्बल २५, चाउचाउ एक सय कार्टुन, बिस्कुट २० कार्टुन, तेल २० कार्टुन, नुन पाँच बोरा, पिउने पानी, मसला दुई बोरा, चामल ५० बोरा र दाल दुई बोरा शनिबार र आइतबार गरी पहिरो पीडितलाई हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

त्यस्तै बेनीमा रहेको गैरसरकारी संस्था सङ्गमले २२ हजार रुपियाँ बराबरको सामग्री सहयोग गरेको छ । आइतबार म्याग्देली युवा आवाज समूहले जिल्ला विपद् व्यवस्थापन कोषलाई दुई लाख रुपियाँ नगद हस्तान्तरण गरेको छ । धौलागिरी गाउँपालिकामा पहिरोमा परेर घाइते भएका १२ जनाको शनिबार र एक जनाको आइतबार प्रभु एयरको हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

मराङ र बिममा आएको पहिरोमा परेकामध्ये तीनजना जीवितै सम्पर्कमा आएको भए पनि अझै चार जना बेपत्ता भएका छन् । बेपत्तामध्ये ५१ वर्षीया जनिमा केसी, १६ वर्षीय सविन पुन, मालिका–७, बिमको एलिसा केसी र खोलाले बगाउँदा बेपत्ता भएकी मालिका–६, दरबाङका ४१ वर्षीय गीता रोका नभेटिएको प्रहरीले जनाएको छ ।

धौलागिरी गाउँपालिका–७ ताकममा पाँच घर, धौलागिरी गाउँपालिका–६ मराङमा २० घर र मालिका –६ बिममा १० घर पहिरोले पूर्ण क्षति भएको छ ।
धौलागिरी गाउँपालिकाका जोखिममा रहेका ५९० जना, रघुगङ्गा गाउँपालिका–३, गलेश्वर राहुघाट खोलानजिकैको बस्तीका २१ घरका ८५ जना, मालिका गाउँपालिबाट १९६ जनालाई र बेनी नगरपालिकाका जोखिममा रहेका २५ जना गरेर ८९६ जनालाई सुरक्षित स्थानमा राखिएको इन्सपेक्टर चौधरीले जानकारी दिनुभयो ।

पहिरोमा परेर गम्भीर घाइते मराङको २२ वर्षीया मन्जिता श्रीपाली, आठ वर्षीय सफल श्रीपाली र मालिका–७, बिमका ४० वर्षीय पूर्ण परियार, मराङका ८७ वर्षीया गौमती सुनार र ६३ वर्षीया सतदेवी बिटालुलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । मालिका–६, दरबाङका बालसिंह रोकालाई भने थप उपचारका लागि काठमाडौँमा रिफर गरिएको छ । मराङका ४३ वर्षीय धनबहादुर जुग्जाली, ३५ वर्षीय कुशल पुन, २२ वर्षीय दीपक श्रीपाली, १६ वर्षीया बिर्सना जुग्जाली, १२ वर्षीय अङ्कित जुग्जाली र ७२ वर्षीय हरिबहादुर बिटालु भने बेनी अस्पतालमा उपचार गरी घर फर्कनुभएकाे छ । स्केच: भानु भट्टराई/ Himalkhabar

Leave a Reply