अविरल बर्षा कारण अवरुद्ध पाँचदिनदेखि अवरुद्ध बेनी–दरबाङ सडक पुनः सञ्चालन भएको छ । पश्चिम म्याग्दीलाई सदरमुकाम बेनी जोड्ने २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकको विभिन्न स्थानमा अवरुद्ध भएको पहिरो पन्छाएर सडक नियमित रुपमा सञ्चालनमा ल्याएको जिल्ला विपद् ब्यवस्थापन समितिले जनाएको छ ।

सडकखण्ड अन्तरगत बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमान फापरखेतमा खसेको पहिरो हटाउन गण्डकी प्रदेश प्रहरीको विपद् ब्यवस्थापन गुल्मको टोलीले काम गरेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बेनीअनलाइनलाई जानकारी दिनुभयो । ‘यात्रामा जोखिम छ, तत्काल आवश्यक समन्वय गरी सूचारु गरिएको छ’ प्रजिअ ढकालले भन्नुभयो। जिल्ला प्रशासन कार्यालयको समन्वयमा प्रहरी, स्थानीय तह र पूर्वाधार कार्यालय, निर्माण ब्यवसायीमार्फत अवरुद्ध हटाइएको थियो ।गत शुक्रबार अवरुद्ध भएको सडक सञ्चालनमा नआउँदा मंगला, मालिका र धवलागिरी गाउँपालिकाबाट आवतजावत रोकिएको थियो । सडक अवरुद्ध हुदाँ धवलागिरी र मालिकाका पहिरो पीडितलाई आवश्यक राहत साम्रागी समेत ढुवानीमा समस्या भइरहेको थियो । सडक सञ्जाल अवरुद्ध भएपछि महंगोमा राहत साम्रागी प्रभावित क्षेत्रमा पुर्याइएको थियो । त्यस्तै दरबाङ–धारापानी हुदै ताकम मुना जोड्ने सडक, दरबाङ– बिम– मराङ सडक सञ्चालनका लागि समेत स्थानीय तहसँग समन्वय भइरहेको छ भने सडकको ठेक्का लिएकालाई समेत ताकेता गरिएको छ ।

पहिरोको जोखिम अध्ययनका लागि प्रहरीको विपद् ब्यवस्थापन टोलीले ड्रोन क्यामेराको समेत प्रयोग गरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले जानकारी दिनुभयो ।

पहिरो ब्यवस्थापन तथा जोखिमपूर्ण स्थानको पहिचानका लागि प्रहरी सहायक निरिक्षक सागर रानाको नेतृत्वमा १० जनाको टोली समेत परिचालन गरिएको छ । प्रसनी थापाको नेतृत्वको टोलीविपद् सम्बन्धी तालिम प्राप्त अनुभवी जनशक्ति समेत रहेको छ । सडकखण्डमा आवश्यक स्काभेटर समेत परिचालन गरिएको छ । बेनी–दरबाङ सडक पश्चिम म्याग्दीको लाइफलाइन मानिन्छ ।

Leave a Reply