करेन्ट लागेर दुवै हात गुमाएका मंगला गाउपालिका–२, बाबियाचौरका २७ बर्षिय यूवा खिमबहादुर पुनलाई बुधबार डेढ लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गरिएको छ। गत बैशाख १२ गते दरबाङमा विद्युतीकरणको सिलसिलामा करेन्ट प्रवाह भई घाईते हुनुभएका पुनलाई विभिन्न ब्यक्तिमार्फत संकलन गरिएको १ लाख ६० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।

म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषमा आयोजित कार्यक्रममा पोर्चुगलमा रहनुभएका यामलाल पौडेलको संयोजनमा संकलन भएको ७० हजार, ओमकुमारी शान्ति कोषबाट४० हजार, श्रीकृष्ण हार्डवयरका सञ्चालक मोति पौडेलले १५ हजार, लोकप्रिय इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलले १० हजार, शान्ति कोषका अध्यक्ष राजेश शाक्यले ५ हजार र सचिव लोकेश पुनले ५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको छ ।

सोही अवसरमा शान्ति कोषमार्फत इन्द्रेणी कार्यक्रमका सञ्चालक कँडेल सहितको टोलीलाई स्वागत समेत गरिएको थियो । कार्यक्रममा इन्द्रेणीका सञ्चालक कँडेलले म्याग्दीमा ओमकुमारी शान्ति कोषमार्फत भइरहेको मानवीय सेवाबाट उत्साहित भएको बताउनुभयो ।

मृगौलापिडितलाई सहयोग

विपन्नको उपचारमा कोषमार्फत भइरहेको पहलबाट उत्साहित भएको बताउँदै आवश्यक सहकार्य गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । इन्द्रेणी कार्यक्रमले कोषलाई १० हजार, ताराखोलाका मृगौलापिडित लिलाकान्त कँडेललाई १० हजार, मृगौला पिडित डेकनाथ शर्मालाई १० हजार, मुदीका छगेन्द्र हमाललाई १० हजार, पूर्णगाउँकी कोपीला पुनलाई १० हजार सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

सोही अवसरमा बागलुङका मधुसुधनराज पाण्डेले पाँच हजार रुपैयाँ, कानुन ब्यवसायी राम शर्माले छोरी साहश शर्माको जन्मदिनको अवसर शान्ति कोष मार्फत पहिरो पिडितहरुको लागि ५ हजार सहयोग गर्नुभएको कोषका कार्यालय प्रमुख डकबहादुर रोकाले जानकारी दिनुभयो। सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको स्वागत कोषका प्रथम उपाध्यक्ष हरिकृष्ण गौतम र सञ्चालन सहसचिव सन्दिप खत्रीले गर्नुभएको थियो ।

म्याग्दीको पहिरो पीडितलाई डेनमार्कबाट सहयोग
असार २५ गतेको अविरल बर्षासँगै आएको बाढीपहिरोमा परेर ज्यान गुमाएका परिवार र विस्थापितलाई डेनमार्कमा रहेका म्याग्देलीले आर्थिक सहयोग गरेका छन् ।

बेनी नगरपालिका ५ पुलाचौर घर भई हाल डेनमार्कमा रहनुभएका कृष्ण पौडेल, बेनपा ६ का हरी क्षेत्री, शोभा बानियाँ, बेनपा ४ तातोपानीका रविन श्रेष्ठ, उषा पुन मगरको सक्रियतामा संकलन भएको २ लाख ४५ हजार ४७५ रुपैयाँ चन्द्रकुमारी खत्री र कृष्ण केसीमार्फत कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभएको छ । उक्त सहयोग कोषमार्फत पहिरो प्रभावित क्षेत्रमा सहयोग गरिने छ ।

Leave a Reply