बस्तीमाथिबाट एक्कासी आएको पहिरोमा घाईते भएकालाई मोना जापानले आर्थिक सहयोग गरेको छ। गत शुक्रबार गएको पहिरोमा गम्भीर घाईते भई थप उपचारका लागि मणिपाल अस्पतालमा रहेका ४ जना बिरामीलाई ८८ हजार ६७१ रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।

अस्पतालमा उपचार गराइरहेकी धवलागिरी गाउँपालिका–६, मराङ राम्चेकी मञ्जिता र्सिपालीलाई ४६ हजार ६७१ रुपैयाँ, ताकमकी सतदेवी विटालुलाई २० हजार, मराङकी गौमती सुनार १० हजार र बिमका पूर्ण नेपालीलाई १० हजार सहयोग गरिएको मोना जापानका महासचिव गणेशप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

मोना जापानको सहयोग अस्पतालमा रहेका मंगला गापा–१ कुहुँका शिव सिर्पालीले हस्तान्तरण गर्नुभएको थियो । दैबी प्रकोप अर्थात् अकल्पनीय तरिकाले आएको पहिरोमा जनधनको क्षति तथा घाईतेहरुको उपचार, उद्दार तथा राहत कार्यका लागी मोना जापानले आर्थिक सहयोग संकलन गरिरहेको अध्यक्ष दिपक कार्कीले बताउनुभयो ।

पीडितको उपचारमा दलित यूवा सञ्जाल म्याग्दी, आशिष परियार लगायत विभिन्न ब्यक्ति तथा संस्थाले समेत सहयोग हस्तान्तरण गरेका छन् । यसबीच घाईतेको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने सामाजिक विकासमन्त्री नरदेवी पुनको भनाई उद्धित गदैं सहयोग अभियानमा सक्रिय रहेका सिर्पालीले जानकारी दिनुभयो ।

घाईतेलाई भेट्न सामाजिक विकासमन्त्री पुन, पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममायाँ थापा अस्पतालमा पुग्नुभएको थियो । अस्पतालका चिकित्सकलाई उपचारमा कुुनैपनि कमी हुन नदिन र आवश्यक परेमा तत्काल खवर गर्न समेत अस्पतालका चिकित्सकलाई मन्त्री पुनले निर्देशन दिनुभएको थियो ।

Leave a Reply