गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पश्चिम म्याग्दीको बाढीपहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।

गत असार २५ गते शुक्रबार राती आएको पहिरोले विस्थापित भएका धवलागिरी गाउँपालिका–६ मराङको आरवाङ, राम्चे, कल्लेनी लगायतका बस्तीहरूको अवलोकन गरी मुख्यमन्त्री गुरुङले विस्थापितलाई उचित स्थानमा पुर्नस्थापना, राहत तथा आवश्यक सम्पूर्ण सहयोग गर्ने भन्दै पिडीतलाई सान्त्वना दिनुभएको छ । ‘पहिरोले बस्ती छियाछिया भएको छ,‘तपाईहरुलाई आवश्यक पर्ने राहत प्याकेज सहितको सहयोगको तयारीमा छौ’ गुरूङले भन्नुभयो ।मराङबाट विस्थापित भएर ताकमको सिवाङमा पुगेका पीडितलाई भेटेर मुख्यमन्त्री गुरुङले आवश्यक प्रक्रिया मिलाएर गाउँपालिका, प्रदेश सरकारबाट बजेटको ब्यवस्थापन गरिने बताउँदै थप आवश्यक परेमा संघीय सरकारबाट समेत पहिरो पीडितका लागि बजेटको माग गरिने बताउनुभयो ।

मुख्यमन्त्री गुरूङले विस्थापितको समस्या समाधान गर्न केही महिना लाग्न सक्ने बताउनुभएको गाउँपालिकाका योजना शाखा प्रमुख कृष्ण सुबेदीले जानकारी दिनुभयो । बाढीपहिरोको कारण सडक सञ्जाल समेत भएकाले आवश्यक सतर्कता अपनाउन मुख्यमन्त्री गुरुङले स्थानीय जनप्रतिनिधिलाई निर्देशन समेत दिनुभएको छ । मुख्य मन्त्री गुरुङले पिउनेपानी, सडक यातायात तथा अन्य अत्यावश्यक श्रोत साधनको निर्माणका लागि आवश्यक बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। टोलीमा सामाजिक विकास मन्त्री नरदेवी पुन, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, नेपाली सेना, प्रहरीका प्रदेश प्रमुखहरु सहभागी हुनुहुन्थ्यो । टोलीलाई गाउँपालिका अध्यक्ष थमसरा पुनमगरले पहिरोस्थलका बारेमा जानकारी गराउनुभएको थियो ।

गत असार २५ गते रातीको पहिरोमा परि धौलागिरी गाउँपालिकाका ७२ घर पूर्ण क्षती, २ घर आंशिक क्षती भएका छन् भने ५१५ जना पूर्ण रुपमा प्रभावित र १९ जना आंशिक रुपमा प्रभावित भएको जिल्ला प्रशासन कार्यालय म्याग्दीको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै मालिका गाउँपालिकामा २० घर पूर्ण क्षती, ४२ घरमा आंशिक क्षती हुँदा ९१ जना पूर्ण रुपमा प्रभावित भएका छन् भने १८५ जना आंशिक रुपमा प्रभावित भएका छन् । मुख्यमन्त्री सहितको टोली मालिका गाउँपालिका ७ बिम जाने बताइपनि मराङ र ताकममा विस्थापितलाई पहिलो चरणको सहयोग हस्तान्तरण गरेर फर्किएको छ । दोस्रो चरणमा अवलोकन सहितको राहत उपलब्ध गराउन विम आउने टोलीले जनाएको छ ।

Leave a Reply