नेपाल सरकारले यसबर्ष देशभरबाट छनौट गरेको १ सयवटा नमुना विद्यालयमा म्याग्दीको एउटा विद्यालय समेत छानिएको छ । जिल्लाको बेनी नगरपालिका–६, अर्थुङेमा अवस्थित जामुनाखर्क माविलाइ  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नमुना विद्यालयमा छनौट गरेको विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुंगानाले बताउनुभयो ।

‘यो अवसरसँगै चूनौती पनि थपिएको छ,‘म्याग्दीको शैक्षिक क्षेत्रमा कोशेढुंगा सावित हुनेछ’ प्रअ ढुंगानाले भन्नुभयो ।

नमुना विद्यालयको मापदण्ड पुरा गरेपछि प्राप्त गरेको सफलताबाट उत्साहित भएको बताउनुभयो । वि.श २०२१ सालमा स्थापना भएको विद्यालयबाट २०६० सालमा पहिलो ब्याजले एसएलसीमा सहभागिता जनाएका थिए । बि.स २०६४ सालमा उच्च मावि सञ्चालन गरेको विद्यालय जिल्लामा सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याउनेमा उत्कृष्ट भित्र पर्छ ।

हाल विद्यालयमा ३ सय २० जना विद्यार्थी रहेका छन् । नमुना विद्यालयमा छनौट हुन मन्त्रालयले तोकेका विभिन्न मापदण्ड अन्तरगत विद्यालय परिसरभित्र न्यूनतम १० रोपनी जमिन, विद्यार्थी संख्या, एसइई नतिजा, सडक, सञ्चार, कक्षा १२ सम्मको शिक्षा लगायत विभिन्न मापदण्ड रहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापाले बताउनुभयो ।

म्याग्दीको पहिलो नमुना विद्यालय अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश मावि हो भने दोस्रो मंगला गाउँपालिका–२ बावियाचौरको मंगला मावि रहेको प्रमुख थापाको भनाई छ । नमुना विद्यालय विकास एवम् सञ्चालन निर्देशिका २०७४ पहिलो संसोधन २०७५ सहित) अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय (मन्त्रीस्तर) को मिति २०७७÷३÷३१ को निर्णयमा देशभरका १ सय विद्यालयमा म्याग्दीमा जामुनाखर्क मात्रै छ।

नमुना विद्यालय छनौटसँगै योजना तथा विभिन्न शिर्षकमा झण्डै करोडभन्दा बढी बजेट समेत आउँछ । नमुना विद्यालयको छनौटले सामुदायिकमा विद्यार्थीको आर्कषण बढाउनुका साथै विद्यार्थीलाई पुस्तकको ज्ञान बाहेक पढ्न संस्कृतिको विकासका लागि विभिन्न शैलीको प्रयोगलाई समेत प्राथमिकता दिने गरेको छ ।

Leave a Reply