पश्चिम म्याग्दीको ’लाइफलाइन’ मानिने बेनी–दरबाङ सडक पुनः अवरुद्ध भएको छ । गएरातीको बर्षाले बेनी नगरपालिका–४, तातोपानीको घुमाउने तालमा सडक अवरुद्ध भएको हो । बेनी नगरपालिका र मंगला गाउँपालिका जोड्ने उक्त स्थानमा माथिबाट खसेको रेलोले सडक पूर्णरुपमा अवरुद्ध भएको तातोपानीका स्थानीय यूवा कुमार केसीले बेनीअनलानलाई जानकारी दिनुभयो ।

‘पैदल हिड्न पनि समस्या छ,‘हरेकबर्ष उस्तै समस्या छ’ केसीले भन्नुभयो । गत शुक्रबार अवरुद्ध भएको सडक पाँचदिनपछि बुधबार सञ्चालनमा आएको थियो । अवरुद्ध भएको पाँच दिनपछि पुनः सञ्चालनमा आएपनि बिहिबार रातीको बर्षाले सडक अवरुद्ध भएको हो ।

पश्चिम म्याग्दीलाई सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर लम्बाईको बेनी–दरबाङ सडकका विभिन्न खण्डमा झरेको पहिरोका कारण आवतजावतमा समस्या छ । पहिरो पन्छाएर बुधबार बिहानदेखि सडक नियमित रुपमा सञ्चालनमा ल्याएपनि पुनः खसेपछि शुक्रबार खुलाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा प्रहरी, स्थानीय तह र पूर्वाधार कार्यालय, निर्माण व्यवसायीमार्फत पहिरो हटाएर सडक मर्मत गरी यातायात आवागमन थालिएको छ। सडक सञ्चालनमा नआउँदा मंगला, मालिका र धवलागिरि गाउँपालिकामा आवतजावत रोकिएको छ । धवलागिरि र मालिकाका पहिरो पीडितलाई आवश्यक राहत साम्रगी समेत ढुवानीमा समस्या भइरहेको थियो। सडक सञ्जाल अवरुद्ध भएपछि महंगोमा हेलिकप्टरमार्फत लैजानुपर्ने बाध्यता छ ।

Leave a Reply