बेनी नगरपालिका–४ तातोपानी बजार नजिकै लुल्याह भन्ने ठाउँमा जमिन भाँसिएको छ । पश्चिम म्याग्दीको ’लाइफलाइन’ मानिने बेनी–दरबाङ सडकखण्ड अन्तरगत माथिल्लो तातोपानी जानेखण्डको ओडार नजिकैको माथिल्लो क्षेत्रमा जमिन भाँसिएपछि आवतजावतमा जोखिम बढेको छ ।
सडक विस्तारको क्रममा समेत उक्त स्थान निकै जोखिम रहेको अवस्थामा माथिल्लो क्षेत्रमा धान रोपाई गरिएको खेत र खरबारीको जमिन भासिएको स्थानीय कुमार केसीले जानकारी दिनुभयो । उक्त स्थानमा खेत चर्किएको छ । भाँसिएको जमिनको प्रदेश सांसद विनोद केसी लगायतको टोलीले स्थलगत अनुगमन गरी आवश्यक सर्तकता अपनाउन समेत अनुरोध गरेको स्थानीयबासीको भनाई छ । जमिन चर्किएको अवस्थामा ओडारबाट तल बस्ती नजिकैको भागमा असर गर्ने जोखिमलाई मध्यनजर गरी स्थानीयले सतर्कता अपनाइरहेका छन्। जमिन भासिएको तल्लो क्षेत्रको पत्थर समेत कमजोर छ । तातोपानी कुण्डको माथिल्लो भागको घुम्तीबाट माथिल्लो बजारसम्म पैदल र सवारीसाधनमा आवतजावत गर्दा सर्तकता अपनाउन समेत अनुरोध गरिएको छ । स्थानीय केपी अधिकारी, तुल अधिकारीको जग्गा र दिलबहादुर रोकाको खरबारी रहेको छ।