बाढीपहिरो गएको एकसातापछि धवलागिरी गाउँपालिका जोड्ने सडक मर्मतकार्य सुरू भएको छ । गएको शुक्रबार भिषण बर्षासँगै आएको बाढीपहिरोले सडक छियाछिया भएपछि आवतजावत बन्द भएको अवस्थामा पहिरो प्रभावितलाई आवश्यक पर्ने खाद्यान्न लगायतका साम्रागी ढुवानीमा समस्या भएपछि अवरुद्ध सडक मर्मत सुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो ।

‘अवरुद्ध सडक मर्मत सुरु भएको छ,‘केहीदिनमा सुचारु गर्ने प्रयासमा छौ’ छन्त्यालले भन्नुभयो । मालिका गाउँपालिका–५ देविस्थान भेदी हुदै धारापानी, चाउथे, रातमाटा हुदै ताकम जोड्ने बैकल्पिक बाटोमा मर्मत सुरु गरिएको छ । यो सडक बैकल्पिक भएपनि आवतजावत र ढुवानीमा सहज हुने गाउँपालिका उपाध्यक्ष छन्त्यालको भनाई छ । धारापानी–ताकमको मुख्य बाटो तत्काल सञ्चालनमा ल्याउन समस्या रहेको छ । गाउँपालिकाको आन्तरिक बजेटबाट मर्मत सुरु गरिएको छ । छिमेकी मराङमा पहिरोले विस्थापित भएकालाई राखिएको ताकमको सिवाङसम्म खाद्यान्न लगायतका साम्रागी लैजान हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने अवस्थामा बिहिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समेत सडक सञ्चालनमा चासो देखाउनुभएको थियो ।

यता जिल्ला समन्वय समितिले मालिका र धवलागिरीलाई अवरुद्ध सडक खुलाउन पचासपचास लाख उपलब्ध गराउने निर्णय समेत गरिसकेको छ । उक्त निर्णयसँगै दरवाङ देखि बिम हुदै मराङ र धारापानी ताकम हुदै मुना जोड्ने सडक मर्मतको काम सुरु भएको छ ।

गत शुक्रबार मराङ र बिममा गएको पहिरोमा २८ जनाको मृत्यु भएको छ भने ३ जना वेपत्ता भएका छन् । करिब १ सय ५० घरमा क्षती पुगेको छ भने ६०६ जना पूर्णरुपमा विस्थापित र २०४ जना आंशिक रुपमा प्रभावित भएको तथ्याङ् सार्वजनिक भएको छ । पहिरोका कारण ९२ घरमा पूर्ण, ४४ घरमा आंशिक रुपमा क्षति पुगेको छ भने विस्थापित टेन्ट हालेर र विद्यालयमा आश्रय लिइरहेका छन् ।

Leave a Reply