उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाको गुईठेभीरमा सडक भाँसिदा निर्माण साम्रागी बोकेको ट्रिपर सँगै चालक कालिगण्डकी नदीमा खसेर मृत्यु भयो ।

अन्नपूर्ण गाउँपालिका–६ घारमा निर्माणधिन अवस्थामा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको बा २ ख ३४२५ नंबरको ट्रिपरसँगै मंगला गाउँपालिका–५ छिस्वाङ घर भएका चालक २७ बर्ष ज्ञानबहादुर पुनको शब भोलिपल्ट रातोपानीबाट निकालियो । अनुभवी चालक पुन जमिन भाँसिएर ट्रिपर अनियन्त्रित भएपछि नदीमा खसेका थिए । यो एउटा प्रतिनिधिमुलक घटना मात्रै हो । मुस्ताङ पुग्ने एकमात्र स्थलमार्ग एवम् गण्डकी प्रदेशको लाइफलाइन मानिने म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानालाई जोड्ने बेनी–जोमसोम–कोरला सडक आयोजना अन्र्तरगत बेनी–जोमसोमखण्डमा मात्रै दर्जनभन्दा बढी स्थानमा पहिरो र कालिगण्डकी नदीको कटानले छियाछिया परेको छ।

तलबाट नदीको कटान बढ्दै जाँदा माथिबाट पहिरो खस्ने क्रमले बर्खाको समयमा सडकमा सवारीसाधन तथा पैदलयात्रामा समेत आवतजावतमा निकै समस्या हुने गरेको छ भने हरेक बर्ष मानवीय क्षती समेत थप त्रास बढाएको छ ।गलेश्वरको बेलिब्रिज राहुघाट नदीले बगाएसँगै सिधा यातायात विच्छेद भएको अवस्थामा बेनी–जोमसोम खण्ड पूरै क्षतविक्षत अवस्थामा रहेको दानाका पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बताउनुभयो। ‘सडकमा यात्रा जोखिमपूर्ण छ,‘यात्रुले ठाउँठाउँमा सास्ती खेप्नुपर्छ’ शेरचनले भन्नुभयो ।

सडकखण्डमा मजदुर देखि यात्रुले हरेक बर्ष ज्यान गुमाउने गरेका छन् । कालिगण्डकी नदी उर्लेर आउँदा सडकको अवस्था थप जोखिमपूर्ण हुने गरेको बताउनुभयो । सडक खण्डअन्तर्गत तातोपानीको पोखरी, नागढुंगा, दानाको गुईठे, काभ्रेभीर, मुस्ताङको थासाङ् गाउँपालिका–४ घाँसा, सिर्कु, मार्फाको स्याउबारी आसपासको क्षेत्रमा धेरै जोखिम रहेको यात्रुको भनाई छ ।

लगातारको वर्षा, भिरालो जमिन, भूमिगत पानी, कमजोर भूबनावटले बेनी–जोमसोम–कोरला खण्ड स्तरोन्नति भइरहेपनि यात्रुले हरेक बर्ष बर्षातको समयमा निकै सास्ती खेप्नुपरेको अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

‘उत्तरी क्षेत्रका यात्रुलाई समस्या छ, कालोपत्रे भएपछि समस्या धेरै समाधान हुन्छ’ पुनले भन्नुभयो । यात्रुको समस्या केहीबर्षमै समाधान हुने अध्यक्ष पुनको भनाई छ । विस्तार र कालोपत्रे गर्ने तल्लो खण्ड २ अर्ब ४० करोड रुपैयाँ लागतको आयोजनाको कामले तिब्रता पाएपनि सडकखण्डका पहिरो रोकिएको छैन् ।

Leave a Reply