म्याग्दीको रघुगंगा गाउँपालिका-८ दुवाडी गाउँमा बाढीले ६ घरधुरी पूर्णरुपमा विस्थापित भएका छन् । गाउँको रातोपानी क्षेत्रबाट बस्तीमा पसेको बाढीले ६ घरधुरी सहित वडमा बाढीले करिब ३० स्थानीयको खेतीयोग्य जमिनमा असर गरेको छ ।गत असार २५ गते आएको बाढीले स्थानीय मनबहादुर छन्त्याल, निरबहादुर छन्त्याल, चिविन घर्ती, मंगली विक, भुपिलाल विक लगायतको घरधुरीमा असर गरेको स्थानीय रितुङ माविका शिक्षक यामप्रसाद विश्वकर्माले बताउनुभयो । बाढीले विस्थापितलाई अर्को स्थानमा राखिएको छ भने आलु लगायतका अन्य अन्नबाली पूर्णरुपमा नष्ट भएको छ । एक्कासी आएको बाढीले घरमा असर गरेपछि स्थानीयले भागेर ज्यान जोगाएका थिए । विस्थापितलाई राहत तथा पुर्नवासको अभियान सुरु गरिएको वडा अध्यक्ष गमन छन्त्यालले बताउनुभयो । ‘क्षतीको विवरण संकलन भइरहेको छ,‘स्वदेश तथा विदेशमा रहेकालाई आर्थिक अभियानमा साथ दिन अपिल गरेका छौ’ छन्त्यालले भन्नुभयो ।हरेक बर्ष बाढीले वितण्डा मच्चाउने गरेकाले सुरक्षित आवासको ब्यवस्था गर्न स्थानीयले माग गरेका छन् । गतबर्षको भदौ २७ गते रघुगङ्गा नदीमा आएको बाढीले रितुङ मावि सहित आसपासका क्षेत्रमा ठूलो क्षती पुगेको थियो । बाढीले प्रभावित क्षेत्रमा राहत तथा थप विवरण संकलन गरिने गाउँपालिकाले जनाएको छ । बाढीले सामुदायिक भवन र खेलकुद मैदानमा समेत असर गरेको छ ।

Leave a Reply