बाढीपहिरोले अवरुद्ध भएको पश्चिम म्याग्दीको दरबाङ–खारा सडकखण्ड मर्मतकार्य सुरु भएको छ । गत असार २५ गते रातीको भिषण बर्षाले अवरुद्ध भएको सडकखण्डको मालिका गाउँपालिका–७ बिमको खाराबाट सडकको अवरुद्ध हटाउन सुरू गरिएको गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले बताउनुभयो ।

सडकखण्ड हुदै बिम र धवलागिरी गाउँपालिका–६, मराङका बाढीपहिरो प्रभावितलाई राहत ढुवानी तथा स्थानीयको आवतजावतमा समस्या भएपछि जिल्ला समन्वय समितिले समेत ५० लाख विनियोजन गरेको थियो भने गाउँपालिकाबाट समेत मर्मतमा बजेट उपलब्ध भएपछि मर्मतकार्य सुरु गरिएको जनाइएको छ।

बिम र मराङका पहिरो प्रभावितलाई खाद्यान्न लगायत आवश्यक साम्रागीको ढुवानी गर्न खच्चड र भरिया नै प्रयोग गर्नुपर्ने अवस्था आएपछि तत्काल दरबाङ–खारासम्मको सडक मर्मत गरिने गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।

बिमसम्म सडक मर्मतलाई उच्च प्राथमिकतामा राखिएको छ । बाढीपहिरोले सडकखण्डका विभिन्न स्थान छियाछिया भएको अवस्थामा मर्मतमा जोखिम भएपनि बाढीपहिरो प्रभावित क्षेत्रका बासिन्दाको सहजतालाई ध्यानमा राखेर बर्खाको समयमा समेत मर्मत सुरु गरिएको हो ।

यता धवलागिरी गाउँपालिकाले दाङखोलासम्मको सडक मर्मतलाई तिब्रता दिएको छ । दाङखोलामा निर्मित पुल समेत पुरिएको अवस्थामा रहेको र प्रयोग गर्न सकिने भएकाले सडकलाई तत्काल सञ्चालनमा ल्याउने गरी मर्मत भइरहेको गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले जनानकारी दिनुभयो ।

Leave a Reply