म्याग्दीमा सोमबार थप १४ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । कोरोनामुक्त भएर घर फर्किने १४ जना पुरुष हुन् ।

म्याग्दीमा अहिलेसम्म ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोमा सङ्क्रमणमुक्त भएर घर फर्किनेको सङ्ख्या ३४ पुगेको छ । तीमध्ये २९ जना पुरुष र पाँच जना महिला रहेका छन् । अहिले आइसोलेशनमा रहेका ६ जना पुरुषको स्वास्थ्यकर्मीको निगरानीमा उपचार भइरहेको छ ।

कुवेत, भारत र कतारबाट आएर बेनीको क्वरेण्टीनमा रहेको बेला कोरोनाको सङ्क्रमण पुष्टि भएका १४ जना आइसोलेशन अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । डिस्चार्ज हुनेहरुमा सबैभन्दा धेरै कुवेतबाट आएका नौ जना, भारतबाट आएका तीन जना र कतारबाट आएका दुई जना रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

डिस्चार्ज हुनेहरुमा मङ्गला गाउँपालिका १ कुहुँका ३५ वर्षीय पुरुष, मङ्गला २ हिदीका २३ वर्षीय पुरुष, रघुगङ्गा गाउँपालिका ३ राखुपिप्लेका ३० वर्षीय र ४७ वर्षीय पुरुष तथा रघुगङ्गा ६ पाखापानीका २८ वर्षीय पुरुष रहेका छन् ।

यसैगरी मालिका गाउँपालिका १ निस्कोटका ३३ वर्षीय पुरुष, मलिका २ रुम र मालिका ३ रुम (डाँडा गाउँ) का २५ र ४८ वर्षीय पुरुष, मालिका ५ देवीस्थानका २९ वर्षीय पुरुष तथा मालिका ७ बिमका २६ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले बताउनुभयो ।

त्यस्तै बेनी नगरपालिका १ रत्नेचौरका १८ वर्षीय पुरुष, बेनी ४ सिङ्गाका २८ र ३० वर्षीय पुरुष एवं अन्नपूर्ण गाउँपालिका ६ घारका ३० वर्षीय पुरुष डिस्चार्ज भएका छन् । उनीहरुलाई म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल र बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले खादा ओढाएर बिदाइ गर्नुभएको हो ।

उनीहरुलाई बिदाइ गर्दै प्रजिअ ढकालले आइसोलेशन अस्पतालबाट घर फर्किए पनि कम्तीमा एक हप्तासम्म आवश्यक सुरक्षा सावधानी अपनाएर होम क्वरेण्टीनमा बस्न सुझाव दिनुभएको छ ।

म्याग्दीबाट अहिलेसम्म ६ सय ५६ वटा नमुना सङ्कलन गरी पठाइएकोमा ६ सय १५ वटा नमुनाको रिपोर्ट आउँदा पाँच सय ६३ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको छ । सङ्क्रमित बिरामीको दोस्रो, तेस्रो नमुनासहित ५१ वटा नमुनाको रिपोर्ट पोजिटिभ र एउटा नमुना इन्भ्यालिट आएकोमा ४१ वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

म्याग्दीमा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या ४० पुगेकोमा ३५ पुरुष र पाँच जना महिला छन् । अहिले बेनीका तीन वटा क्वरेण्टीनमा एक सय २० जना रहेका छन् । तीमध्ये एक महिला र एक सय १९ जना पुरुष रहेको कोभिड–१९ कमाण्ड पोस्टका सदस्य सुरत केसीले जानकारी दिनुभयो ।

Leave a Reply