उत्तरी म्याग्दीमा सोमबार साँझदेखि विद्युत अवरुद्ध भएको छ । लगातार बर्षाका कारण कालिगण्डकी नदीमा पानीको बहावले विद्युत आपूर्तिमा क्षति पुगेपछि बेनी नगरपालिका–९ गलेश्वरसहित रघुगंगा, अन्नपूर्ण गाउँपालिकामा विद्युत आपूर्ति बन्द भएको विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले जनाएको छ ।

सोमबार अचानक कालिगण्डकीमा पानीको बाहव बढेपछि पर्वतको जलजला गाउँपालिका–२ राम मन्दिरका साथै उत्तरी क्षेत्रका विभिन्न स्थानमा असर गरेको छ । विद्युत आपूर्तिमा असर गरेको स्थानको पहिचान भएकाले मर्मतकार्य सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

यसैबीच तातोपानी जलविद्युत केन्द्रको टेलरेस लगायत १०० केभीको ट्रान्सर्फमर बगाएको छ। बिजुली वितरणको पोल बगाएसँगै विद्युत उत्पादन र वितरण सबै सेवा बन्द भएको छ । पानी बस्तीमा समेत पस्न थालेपछि स्थानीयहरु घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् । निरन्तर बर्षाका कारण सबै विजुली वितरणको काम ठप्प भएको तातोपानी वितरण केन्द्रले जनाएको छ ।

उत्तरी क्षेत्रका विभिन्न स्थानमा विद्युतको खम्बा समेत नदी कटानको जोखिममा परेको छ भने केही पोल क्षतिग्रस्त अवस्थामा रहेकाले विद्युत आपूर्तिको सम्भावना तत्काल नभएको दानाका पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बताए ।  बाढीपहिरोसँगै उत्तरी म्याग्दी अन्धकारमय भएकाले तत्काल मर्मतको कार्य सुचारु गर्न समेत स्थानीयले माग गरेका छन् । विद्युत आपूर्ति बन्दसँगै वित्तिय संस्थाको काम समेत प्रभावित भएको छ ।

Leave a Reply