अविरल बर्षासँगै गएको पहिरोका कारण अवरुद्ध भएको बेनी–दरबाङ सडकखण्ड दुई दिनपछि सुचारु भएको छ । सोमबारको बर्षाले बेनी नगरपालिका–४, फाँपरखेत र मंगला गाउँपालिका–२ जोड्ने फाँपरखेतको पहिरोको अवरुद्ध हटाएसँगै सिधा यातायात सञ्चालनमा आएको हो । म्याग्दीको पश्चिमी क्षेत्रका तीनवटा गाउँपालिकाका साथै छिमेकी जिल्ला बागलुङको ४ वटा गाउँलाई जोड्ने सडकखण्डमा पहिरोले अवरुद्ध भएपछि पैदलयात्रीलाई समेत आवतजावतमा सास्ती खेप्नुपरेको थियो । अवरुद्ध सडक पन्छाउन स्थानीयबासी सहित नेपाली सेना, नेपाल प्रहरीको टोलीले लगातार दुईदिनसम्म मर्मत गरी सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बेनीअनलाइनलाई बताउनुभयो ।
‘अवरुद्ध सडक तत्काल मर्मतका लागि समेत तयारी अवस्थामा राखिएको छ,‘धेरै अवरुद्ध हुने ठाउँमा बर्षा लगत्तै मर्मतको आवश्यकता छ’ प्रजिअ ढकालले भन्नुभयो । उहाँका अनुसार फाँपरखेतको पहिरोमा १४ वटा ग्याविन जाली लगाइएको छ भने आवतजावतमा कम जोखिम हुने गरी मर्मत गरिएको छ ।
पहिरोस्थलमा प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरको समेत उपस्थिती रहेको थियो । प्रजिअ ढकाल र प्रनाउ कुँवरले समेत मर्मतमा सुरक्षाकर्मीसँगै खटिनुभएको थियो । बेनीदेखि दरबाङसम्म हिलाम्मे सडक र बाढीले यात्रा निकै जोखिम हुने गरेको छ । २४ किलोमिटर दुरीको सडकमा यात्रा गर्दा सवारी साधन परिवर्तन गर्नुपर्ने बाध्यताले समेत यात्रुलाई सास्ती हुने गरेको थियो ।