नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको बुधबार म्याग्दीमा ४२औं स्मृति दिवस मनाइएको छ । कार्यक्रममा बोल्ने नेकपाका नेताहरुले पार्टीलाई एकताबद्ध गरी सुदृढ र मजबुत बनाउन कार्यकताले व्यक्ति नभई पार्टीको सिद्धान्त कार्यान्वयनमा जोड दिन आग्रह गरेका छन् ।

सदरमुकाम बेनीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्तममा व्यक्तिभन्दा पनि पार्टीको नीति तथा सिद्धान्त कार्यान्वयनमा नेता एवं कार्यकर्ताहरु लाग्नुपर्नेमा नेताहरुले जोड दिएका थिए । पुष्पलालको फोटोमा माल्यार्पण गर्दै नेकपाका केन्द्रीय सदस्य एवं सांसद भूपेन्द्रबहादुर थापाले नेपालको कम्युनिष्ट आन्दोलनका जन्मदाता पुष्पलालकै मार्गदर्शनबाट अघि बढ्नुपर्नेमा जोड दिए ।

केन्द्रीय सदस्य थापाले आज नेपाली कम्युनिष्ट आन्दोलनका दुई ठूला पार्टीहरु एकीकृत भएर एउटै नेकपालाई सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित गरेको बताउँदै व्यक्तिलाई भन्दापनि पार्टीलाई बलियो बनाउन सहि नीति, विधि र पद्धतिमा अघि बढाउन कार्यकताको भूमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव हरिकृष्ण श्रेष्ठले जिल्लाको बाढीपीडितको व्यवस्थापनमा भैरहेको आर्थिक सङ्कलनबारे जानकारी गराएका थिए । उनले हालसम्म बाढीपीडितको पुनर्वास लगायतको व्यवस्थापनका लागि नेकपाको विपद् कोषमा सातलाख ६३ हजार रुपैयाँ सङ्कलन भएको बताउँदै सहयोग आउनेक्रम जारीरहेको बताए ।

कार्यक्रममा नेकपा गण्डकी प्रदेश सचिवालय सदस्य नवराज शर्मा, प्रदेश सदस्य तथा सांसद विनोद केसी, टेकबहादुर केसी, खुमबहादुर बानियाँ, टेकबहादुर विक, जिल्ला सचिवालय सदस्य एवं जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसीको उपस्थिति रहेको थियो भने जिल्ला सचिवालय सदस्य बालकृष्ण सुवेदीले स्वागत गरेका थिए ।

Leave a Reply