जिल्लाको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीस्थित नागढुङ्गामा कालिगण्डकी नदीको कटानले सडक अवरुद्ध भएपछि भिरबाट यात्रा गर्ने क्रममा विदेशबाट फर्किएका एक यूवाको मंगलबार दिउँसो पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भयो ।

बैदेशिक रोजगारको सिलसिलामा खाडी मुलुकबाट फर्किएका अन्नपूर्ण–३,दाना काभ्रेका ३२ वर्षीय झलक पुनलाई पहिरो छल्ने क्रममा माथिबाट ढुंगा खसेर गम्भीर चोट लागेपछि अचेत अवस्थामा भेटिएका थिए ।

१४ दिन बेनीको क्वारेन्टिनमा बसेर फर्किएका पुनसँगै रहेका अर्का यूवा घाइते भएपनि उम्किन सफल भए । पिसिआर बिधिबाट परीक्षणा गर्दा कोरोना नभएको पुष्टि भएपछि घर पठाइएको अवस्थामा बाटोमै मृत्यु भयो । सोमबार दिउँसो अचानक माथिल्लो क्षेत्रमा अधिक वर्षासँगै उर्लिएको कालिगण्डकी नदीले ठाउँठाउँमा सडक अवरुद्ध भएसँगै जोखिम मोलेर भिरबाट यात्रा गर्दा दुई जना समान्य घाइते भएको सीमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ।

सडकखण्ड पहिरो र नदी कटानले अवरुद्ध भएपछि उत्तरी म्याग्दीका विभिन्न बस्तीका साथै छिमेकी जिल्ला मुस्ताङ जानेले भिरमा डोरीको सहायताले यात्रा गर्नुपर्ने बाध्यता रहेको दानाका पर्यटन ब्यवसायी इन्द्रसिंङ शेरचनले बताए । ‘घाँस समातेर यात्रा गर्नुपर्छ, धेरै ठाउँमा यात्रुले ज्यानकै बाजी राख्नुपर्छ’ शेरचनले भने । उनले नागढुङ्गा, रुप्से झरना, काभ्रेभीर लगायतका स्थानमा पैदलमार्गबाट समेत आवतजावत गर्न नसकिने गरी सडक अवरुद्ध भएको बताए ।

निरन्तर खस्ने ढुंगाले चोट लाग्ने गरेको बताउँदै गन्तब्यमा पुग्नु ठूलो यूद्ध जितेजस्तै भएको अन्नपूर्ण–४, नारच्याङका स्थानीय श्याम पूर्जाले बताए ।

‘बर्खामा यात्रुले सधै ज्यान गुमाउनुपर्छ,‘जोखिममा पैदल आवतजावत पनि रोक्नुपर्छ’ पूर्जाले भने । उनले सडक कच्ची र साँघुरो भएकाले कटानबाट समेत छियाछिया भएको अवस्थामा जोखिपूर्ण यात्रा गर्नुपर्ने बताए । कलिला बालबालिकालाई काखमा च्यापेर महिला समेत भीरको बाटो यात्रा गर्नुपर्ने बाध्यता रहेको छ भने बिरामीलाई आवतजावतमा निकै समस्या हुने गरेको छ ।

पैदलयात्रीको ज्यान गएपछि प्रहरीले जोखिमपूर्ण स्थानमा आवतजावतमा कडाई गर्न थालेको छ। ‘यात्रुलाई गन्तब्यमा पुग्न हतार छ, जोखिमपूर्ण स्थानमा प्रहरीले नै कडाई नगरे अर्को दुर्घटना हुन्छ’ प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले भने । उत्तरी क्षेत्रमा रहेका प्रहरी चौकीलाई जोखिम मानिएका क्षेत्रमा यात्रुलाई प्रवेशमा रोक लगाउन समेत निर्देशन दिएको बताए।

लगातारको वर्षा, भिरालो जमिन, भूमिगत पानी, कमजोर भूबनावटले छिनछिनमा पहिरो जाने समस्याले पैदल यात्री जोगिएर हिड्न मुस्किल छ । गत साता अन्नपूर्ण–३ दानाको गुईठेभीरमा सडक भाँसिदा निर्माण सामग्री बोकेको टिपरसँगै चालक २७ वर्ष ज्ञानबहादुर पुनको मृत्यु भएको थियो ।

७९ किलोमिटरको बेनी–जोमसोम सडकको थप आधा दर्जन स्थानका कटान गरेपछि साउन महिनामा नियमित सञ्चालनको सम्भावना न्यून रहेको अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुनले बताए । ‘मर्मत सुरु भएको थियो,‘बाढीले भयानक क्षति पुर्‍यायो’ उनले भने ।

यसैबीच जिल्लाको पश्चिम म्याग्दी जोड्ने बेनी–दरबाङ सडकखण्ड अन्तरगत विभिन्न स्थानमा पहिरोले सडक बगाएपछि यात्रुलाई निकै सकस भएको छ । बेनपा–४ तातोपानी र मंगला गाउँपालिका–२ जोड्ने घुमाउने तालको सडक बगाएपछि यात्रुलाई आवतजावतमा कठिनाई भएको स्थानीय यूवा पुनम खड्काले बताए ।

उनका अनुसार सडकमा किसानले दूध समेत डोरीको सहायताबाट ढुवानी गर्नुपर्ने बाध्यता रहेको छ । त्यस्तै बाढीपहिरोले अवरुद्ध भएको मालिका र धवलागिरी गाउँपालिकाको सडक समेत सञ्चालनमा नआउँदा पहिरो प्रभावितलाई आवश्यक सामग्री ढुवानीमा समेत खच्चडको प्रयोग गर्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन् ।

Leave a Reply