---Advertisement---

‘सहयोग गरौं सकिन्छ जे जति’ बोलको गीत सार्वजनिक

On: July 23, 2020 10:01 PM
Follow Us:

बाढी पहिरोले दिएको पीडा समावेश गरी निकालिएको ‘सहयोग गरौं सकिन्छ जे जति’ बोलको गीत सार्वजनिक भएको छ ।

गएको असार २५ गते पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङ र मालिका–७, बिमसहित विभिन्न स्थानमा पहिरोले पु¥याएको पीडा समावेश गरी तयार पारिएको गीतको म्युजिक भिडियोसहित बिमोचन गरिएको हो ।

बिहीबार सदरमुकाम बेनीमा आयोजित एक समारोहबीच म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले उक्त म्युजिक भिडियो गीतको सार्वजनिक गरेका हुन् ।

वर्षात्का कारण बाढीपहिरोले दिएको पीडाबारे बनाइएको गीत सार्वजनिक गर्दै उनले गीतको म्युजिक भिडियोमा पहिरोले असर गरेको प्रत्यक्ष घटनाको यथार्थ चित्रण गरेको बताए ।

बाढी पहिरोसम्बन्धी पीडा समेटिएको गीतले विपद्मा परेका व्यक्तिहरुको व्यवस्थापनका लागि आर्थिक सहयोग सङ्कलन अभियानमा सहयोग पुग्ने उनले बताएका छन् ।

धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले गीतमार्फत देश विदेशमा बाढीपहिरोले पु¥याएको क्षतिबारे सन्देश पुग्ने बताउँदै गीतले मराङ, ताकम, धारापानी, बिमलगायत ठाउँमा बाढीपहिरोबाट विस्थापित बनेकाहरुको पुनसर््थापनामा सहयोगी भूमिका खेल्ने बताए ।

उनले पहिरोले दिएको पीडालाई गीतको माध्यमबाट समेटिएको बताउँदै बाढीपहिरो प्रभावितहरुको व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा समेत गरेका छन् ।

गाउँपालिकाको पहलमा निर्माण गरिएको गीतको शब्द÷रचना रमेश पौडेल, रवि कार्की र अमित विश्वकर्माले गरेका छन्भने स्वर रवि कार्की र अमित विश्वकर्माको रहेको छ । यसैगरी भिडियोको सम्पादन नमस्ते डिजिटल म्याग्दीका कृष्णराज पौडेलले गरेका छन्भने गीतमा बाँसुरी नवीन बानियाँ र सारङ्गी विष्णु रिजालले बजाएका छन् ।

पहिरो पीडितको व्यवस्थापन र पुनर्वासका लागि आर्थिक सङ्कलन अभियानलाई थप प्रभावकारी बनाउन पहिरोले दिएको पीडालाई समेटेर म्याग्दीका कलाकारद्वारा म्युजिक भिडियोसहित गीत निकालिएको कलाकार अमित विश्वकर्माले जानकारी दिए ।

धवलागिरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्मा, शाखा अधिकृत कृष्णप्रसाद सुवेदी, गैरसरकारी संस्था महासंघ नेपालका जिल्ला अध्यक्ष दीपक पौडेल, निवर्तमान अध्यक्ष हरिप्रसाद पौडेल, पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष ठाकुरप्रसाद आचार्य उपस्थिति रहेको कार्यक्रमको सञ्चालन कलाकार विश्वकर्माले गरेका थिए । पीडितको व्यवस्थापनका लागि गाउँपालिकाका उपाध्यक्ष छन्त्यालको संयोजकत्वमा आर्थिक सङ्कलन अभियान समिति समेत गठन गरिएको छ।

प्रताप बानियां

प्रताप बानियां बेनीअनलाइनका संवाददाता हुनुहुन्छ।