अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर म्याग्दीका विभिन्न स्थानमा विस्थापित भएकालाई नेपाली कांग्रेस म्याग्दीले संस्थागत रुपमै साढे १० लाखको राहत साम्रागी वितरण गरेको छ । गत असार २५ गते बाढीपहिरोले धवलागिरी, मालिका र रघुगंगा गाउँपालिकमा विस्थापित जिवन विताइरहेकालाई उक्त रकम बराबरको साम्रागी हस्तान्तरण गरेको पार्टीले जनाएको छ ।

शुक्रबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बाढीपहिरोले विस्थापित भएकालाई तत्काल राहतको घोषणा गरी पार्टीभित्रका साथै स्वदेश तथा विदेशबाट राहत संकलन गरी प्रभावित भएकै स्थानमा पुगेर उपलब्ध गराइएको सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले बताउनुभयो ।

‘विस्थापितलाई राहत नपुगेको अवस्थामा तत्काल अभियान सुरु गरेका थियौं,‘विस्थापितको अवस्था नाजुक छ,‘तत्काल सुरक्षित बासको ब्यवस्था मिलाउनुपर्छ’ सभापति गुर्बजाले भन्नुभयो ।

उहाँले विद्यालय, टेन्टमा बसेकालाई आवश्यक आवास निर्माणमा समेत पार्टीबाट सहयोग गरिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । स्थानीय सरकारले स्रोतसाधनको उपलब्धता अनुसार सक्रियता देखाएपनि प्रदेश र संघीय सरकारबाट अपेक्षा गरे अनुसारको सहयोग प्राप्त नभएको सभापति गुर्बजाको भनाई छ ।

‘संघीय सरकार बोलेको छैन, राहत आएको छैन,‘नीजि प्रयासमा हेलिकप्टरबाट उद्धार गर्नुपर्यो’ सभापति गर्बुजाले भन्नुभयो । उहाँले निजी प्रयासमा हेलिकप्टरबाट उद्धारमा खटिएकालाई धन्यवाद दिदैं संघीय सरकारबाट ठूलो राहत प्याकेजको माग समेत गरिएको थियो ।

पत्रकार सम्मेलनमा कांग्रेसले तत्काल विस्थापितको न्यूनतम आवश्यकता पुरा गर्न समेत माग गरेको छ । पहिरोले खच्चड समेत पुग्न नसकेको अवस्थामा मोटरबाटो मर्मत र तत्काल पैदलमार्गबाट ढुवानी र आवतजावतका लागि गोरेटो बाटो समेत मर्मत गर्न सरकार समक्ष माग गरेको छ ।

कांग्रेसले राहत संकलन गरी स्थलगत रुपमै पार्टीको जिल्ला तहका नेताहरुको उपस्थितिमा धवलागिरी–६ मराङका २ लाख ८१ हजार ७५०, कल्लेनीमा ८२ हजार ७ सय, ताकममा २ लाख ४३ हजार र धारापानीमा २ लाख ७५ हजार वितरण गरेको प्रबक्ता अजयमिलन श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै मालिका–७ विममा १ लाख ६९ हजार ७५० रुपैया वितरण गरिएको छ भने मालिकाकै देविस्थान, मंगलाको अर्मन लगायत जिल्लाभर बाढीपहिरोबाट विस्थापितको राहत वितरणका लागि तथ्याङ्क संकलन गरिएको जनाएको छ ।

राहत साम्रागी वितरणमा प्रयोग गरिएको हेलिकप्टरको खर्च ब्यक्तिगत रुपमै ब्यवस्थापन गरिएको समेत प्रष्ट पारेको छ । कांग्रेसका यूवा नेताहरुले समेत निजी खर्चमा समेत पार्टीसँग समन्वय गरी थप साम्रागी उपलब्ध गराएको प्रबक्ता श्रेष्ठको भनाई छ ।

पत्रकार सम्मेलनमा कांग्रेसले विपद्मा दिर्घकालिन रुपमै सक्रिय हुने गरी महासमिति सदस्य चिरञ्जिीवि शर्माले कार्यविधि समेत तयार गरिरहेको अवस्थामा आगामी दिनमा जिल्लाका हरेक विपद्मा पार्टीले सहयोग गर्ने गरी कार्यविधि समेत तयारी अन्तिम चरणमा रहेको जनाइएको छ । पार्टीका सभापतिको संयोजकमा विपद् ब्यवस्थापन गर्ने गरी कार्यविधिलाई अन्तिम रुप दिने प्रयास भइरहेको छ ।

पत्रकार सम्मेलनमा पार्टीका सहसचिव भरत रकालले सहयोग प्रतिवद्धता अनुसार रकम संकलनको काम भइरहेको बताउनुभयो ।कार्यक्रममा उपसभापति माधवप्रसाद रेग्मीको स्वागत तथा सचिव क्याप्टेन मिनबहादुर काकीको संचालनमा भएको पत्रकार सम्मेलनमा पाटीका सचिव तथा मेयर हरिकुमार श्रेष्ठ लगायतका नेताहरुको उपस्थित भएको थियो Add

Leave a Reply