दैनिकजसो काठमाण्डौको पशुपती आर्यघाट आसपासमा हुन्छिन् म्याग्दीकी सपना रोका मगर । काठमाण्डौका विभिन्न स्थानमा बेवारिसे अवस्थामा भेटिएका शबको आफन्त बनेर दागबत्ती दिन्छिन् । बेवारिसे शब भेटिएपछि पहिलो फोन सपनालाई नै जान्छ । कानुनी प्रक्रिया पुरा गरेपछि उनले नै पशुपतिमा दागवत्ती दिने गरेकी छन् ।

पशुपति आसपासमा माग्न बस्नेहरूले उनलाई आफ्नै सदस्य सम्झन्छन् । हरेक दिन एउटै दैनिकी भएकी म्याग्दीको मंगला गाउँपालिका–३ बरंजाको बुकेनी घर भएकी सपनाले आफन्त कोही नभएकाको उपचार र मृत्युपछिको दाहसंस्कारमा समय दिएकी सपनाले निरन्तरता दिइरहेकी छन् । ‘मैले बेवारिसेलाई दागबत्ती दिएर सेवा गरेको छु,‘यो सेवामा लाग्दा निकै आनन्द महसुस भएको छ’ रोका मगरले भनिन् ।

बेवारिसे शवका वारिस बनेर पशुपति र अस्पतालका शब गृहमा पुग्ने गरेकी उनलाई ठूला अस्पतालमा बेसहाराको अभिभावकको रुपमा समेत चिन्न थालेका छन्। ‘कुनै समय म पनि सडकमै थिए,‘सडकमा बस्दाको अनुभव मलाई पनि छ’ उनले भनिन्।

आर्यघाटमा शब जलाउँदा माक्स लगाएर, हातले नाक थुनेर आवतजावत गर्दा सपनालाई केही हुदैन्। विभिन्न ठाउँमा फेला परेका बेवारिसे शव पोष्टमार्टम गरेर दुर्गन्ध फैलिएको शबलाई पनि दाउरा र पराल मिसाएर तयार गरिएको चितामा दागबत्ती दिने गरेकी छन् ।

‘अपरिचित लासमा दागबति दिदाँ मृत आत्माले शान्ति पाउँछ,‘मरेर जानेको आत्माले शान्ति पाए मलाई पुग्छ’ उनले भनिन् । बेवारिसलाई जमिनमा गाड्न खोज्दा समेत धार्मिक परम्परा अनुसार नै दागवत्ती दिनुपर्छ भनेर समेत अडान लिएको उनको भनाई छ ।

पाँच महिनाअघि उनी पहिलो पटक विनयजंग बस्नेतसँग शिक्षण अस्पतालको शवगृह पुगेकी थिइन्। पशुपतिमा सधै मृतकका परिवार, आफन्तको रूवाबासी हुने, मलामीको भिडभाड नजिकै उनले दागबत्ती दिने चिता आसपासमा न कसैको रुवाबासी, न कुनै भीड हुन्छ।

गएको पाँच महिनामा उनले ३५ वटा बेवारिसे शवमा दागबत्ती दिएकी छन् । दुईसाता अगाडी मात्रै एकै पटक ६ वटा शवको अन्त्येष्टि गरेको बताईन् । उनीहरुले दाहसंस्कार गर्ने प्रायः शव एक वर्ष पुराना हुन्छन्। सपनाले २०७३ सालमा गाउँकै महेन्द्ररत्न माध्यामिक विद्यालयबाट एसईई दिएकी थिइन्।

त्यसपछि गाउँ छाडेकी उनी सदरमुकाम बेनीमा कक्षा ११ मा भर्ना भइन्। बाबु–आमा र दाजु–दिदीले भनेको नमान्दा घर परिवारसँग सम्बन्ध बिग्रिएपछि केही समय बुटवल र पोखरा बसिन् । गलत संगतमा फसेपनि सपनाले कक्षा १२ सम्मको पढाई सकेकी छन् । जीवनसँग हारिसकेकी अवस्थामा आत्महत्याको तयारी समेत गरिन् । उनले आफ्नो पुरानो जीवन कुलतमा फसेपनि अव बाँकी जीवन समाजसेवामा लाग्ने बताईन्

आत्महत्या असफलता माथिको सफलता नभएको भन्दै संघर्ष गरेर सफल बन्ने निधो गरिन् । अहिले विगत आफ्नै नाम जस्तै लाग्न उनले परिवारसँग विगतमा गरेका गल्तीको क्षमायाचना गदैं बेवारिसेहरुको सेवामा लाग्ने प्रतिबद्धता समेत जनाइन् । ललितपुरमा बस्दै आएकी सपनाले दैनिकजसो पशुपतिमा पुगेर आफ्नो जिम्मेबारी पुरा गर्ने गरेकी छन् ।

उनले लकडाउन खुलेपछि क्याम्पसमा समेत भर्ना थप पढाईलाई निरन्तरता दिने बताईन् । उनले आफ्नो गृहजिल्ला म्याग्दीमा बाढीपहिरोबाट विस्थापित भएकालाई समेत राहत अभियान सञ्चालनको तयारीमा रहेको बताईन् । ‘जिल्लामा बाढीपहिरो खस्दा मुटु पोलेको छ,‘मैले सकेको सहयोग लिएर जान्छु’ सपनाले भनिन् । उनले जिल्लामा हुने विभिन्न सामाजिक गतिविधिमा समेत विस्तारै समय दिने बताईन् । आफ्नो यो सेवालाई दुईचार महिनाका लागि नभई जीवनभर नै सञ्चालन गर्ने बताईन् ।

Leave a Reply