म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल शुक्रबार विहानै अवरुद्ध बेनी– बागलुङ सडकखण्डको मर्मतमा निस्किए। बेनी नगरपालिका–१ रत्नेचौरका विभिन्न बस्तीमा नदी र पहिरोले सडक अवरुद्ध भएपछि प्रजिअ ढकालले आनन्दबगर, लामगरा, सिम र सारेमारेमा बाढीपहिरोको असरले अवरुद्ध भएको सडक र जोखिमको अवलोकन सँगै तत्काल स्थानीय सरकारसँग समन्वय गरे।

लगत्तै धार्मिकस्थल गलेश्वरमा कालिगण्डकी नदीको कटानको अवलोकन गर्न पुगे, त्यसको केही समयमा लायन्स क्लवको राहत साम्रागी हस्तान्तरण गरेपछि खाना नखाई पुनः भत्किएको बेलिब्रिजको मर्मतस्थलमा पुगे।

दैनिकजसो प्रशासनीक काममा ब्यस्त हुनुपर्ने प्रजिअ ढकाल असार महिना यता प्रशासनीकसँगै विपद्ले तहसनहस बनाएको जिल्लाका विभिन्न स्थानमा पुगेर दिनभरी श्रमदान समेत गरेका छन्। अविरल बर्षाले चारदिनदेखि अवरुद्ध पश्चिम म्याग्दी जोड्ने बेनी–दरबाङ सडकखण्डको घुमाउने तालमा दिनभरी मजदुरसँगै श्रमदान समेत गरे।

एकाविहानैदेखि मध्यरातसम्म विपत् व्यवस्थापनको क्षेत्रमा तत्काल खोज, उद्धार र व्यवस्थापनमा प्रजिअ ढकालको भूमिकाबाट जिल्लाबासी सन्तुष्ट छन्। २०७६ साल साउन १५ गते जिल्लामा आएका प्रजिअ ढकालको सिडियो जिल्लाको प्रशासनीक प्रमुखसँगै जनताको सेवक पनि भएको स्थलगत रुपमै महसुस हुने गरी काम गरेका छन्।

‘कार्यालयको कुर्चीमा बसेर सेवा प्रवाह मात्रै मेरो जिम्मेबारी होईन्,‘अवरुद्ध बाटो पन्छाउन आवश्यक परेको ठाउँमा जनश्रमदानमै जान्छु’ प्रजिअ ढकालले भने।

बाढीपहिरोको उच्च जोखिममा रहेको म्याग्दीमा कार्यालयभित्रको प्रशासनीक कामसँगै फिल्डमा पुगेर स्थानीय सररकारसँग समन्वय गरिरहेको बताए। ‘मर्मतमा अटेर गर्ने निर्माण ब्यवसायीलाई चेतावनी पनि दिनुपर्ने रहेछ,‘फोनबाट मात्रै भनेर समान्य मर्मत पनि महिनौं लगाउने चलन रहेछ’ प्रजिअ ढकालले भने।

पश्चिम क्षेत्रमा पर्ने धवलागिरी र मालिका गाउँपालिकामा बाढीपहिरोले २८ जनाले ज्यान गुमेको र बस्ती नै विस्थापित भएको अवस्थामा खाद्यान्न लगायतका साम्रागी ढुवानी गर्ने सडक नै अवरुद्ध भएपछि पटक–पटक अवलोकन र सम्बन्धित कार्यालयका प्रमुख र ठेकेदारलाई समेत कडा चेतावनी दिएपछि मात्रै कामले तिब्रता पाएको प्रजिअ ढकालको भनाई छ।

हरेक बिहान ४ बजे उठिसक्ने र राती करिब ११ बजेसम्म फिल्डमै विताउँदा जनताको मायाँ धेरै पाएको प्रजिअ ढकालको भनाई छ। उनले जिल्लाभर बाढीपहिरोले तहसनहस बनाइरहेको अवस्थामा कार्यालयको काम बाहेक फिल्डमै खटिने गरेको बताए। उत्तरी म्याग्दी हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्डको गलेश्वरमा रहेको बेलिब्रिजलाई तीनदिनभित्र सञ्चालनमा ल्याउन सक्रिय रहेको बताए।

‘विपद्मा गैँची समातेर हिड्छु, ढुंगा फाल्छु,‘मजदुरकै भूमिका पनि निभाउनुपर्ने अवस्था आउँछ’ प्रजिअ ढकालले भने। विपद्मा जिल्लामा दैनिक हस्तान्तरण हुने राहत साम्रागी बुझ्ने, स्थलगत अनुगमन गर्ने, जिल्लाभित्रका जनताका अनेक समस्या समाधानमा तल्लिन प्रजिअ ढकालसँग जिल्लाका सरोकारवाला निकाय समेत पुर्णरुपमा सन्तुष्ट छन्।

‘प्रजिअ ढकाल नै आएर बाटोमा बसेपछि अवरुद्ध सडक पन्छाउन सजिलो भयो,‘उहाँले मजदुरकै रुपमा काम गर्नुभयो’ बेनी नगरपालिका–४ तातोपानीका यूवा कुमार केसीले भने। मजदुरसँगै खटिएका प्रजिअले सडक सुचारु गरेपछि मात्रै फर्किएको बताए।

अवरुद्ध सडकको मर्मतमा स्थानीय जनप्रतिनिधि भन्दा अगाडी नै पुग्ने प्रजिअ ढकाललाई सुरक्षा निकायको उस्तै साथले थप सहज भएको छ। पोशाकमा सडक मर्मतमा खटिएका नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीलाई जनप्रतिनिधि र स्थानीयको समेत साथ रहेको छ। चुस्त, दुरुस्त र सुशासनयुक्त प्रशासनका लागि कार्य सम्पादन मूल्यांकनमा जोड दिएका प्रजिअले कोरोना भाइरस बिरुद्धको अभियानमा समेत उस्तै सक्रियता देखाएका थिए।

ढकालको जनसेवामा देखाएको सक्रियताले उनको कार्यशैली र मेहनतको उच्च प्रशंसा हुने गरेको छ। प्रजिअ ढकालले जिल्लाबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दलका नेता, नागरिक समाज लगायतसँग समेत आवश्यकता अनुसार समन्वय गर्ने गरेका छन्।

Leave a Reply