कुनै षोडसी युवतीले आफ्ना वक्षस्थल ढोकेको सेतो पछ्यौरी हावाले उडाउन खोज्दा लजाउँदै पछ्यौरीलाई जतन गर्न लागेजस्तै देखिने चित्ताकर्षक रुप्से झरनाको सौन्दर्य अव दुर्लभ बनेको छ ।
गत सोमबारको भीषण वर्षा पछि रुप्से झरनामा आएको बाढीले अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने अत्यन्त आकर्षक स्थल रुप्से झरनाको सौन्दर्यलाई छिया छिया पारिदिएको छ ।
बेनी–जोमसोम–कोरला सडकखण्ड (कालीगण्डकी करिडोर) अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानामा पर्ने रुप्से झरनामा रमाउने योजना बनाएका हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरुले अव रुप्सेको पुरानो सौन्दर्यलाई देख्न नपाउने भएका छन् ।
बाढीले झरनाको सौन्दर्य मात्र होइन एक होटेल ,पुल र स्काभेटर समेत बगाएको छ । झरनामा आएको बाढीले सुवर्ण खत्रीको गोल्ड ल्याण्ड वाटर फल होटेल, गजुरमुखी कम्पनीको एउटा स्काभेटर मेशिन ,बस र पुल बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
स्थानीय हस्तबहादुर पुनका अनुसार अव रुप्से झरनालाई पुरानै स्वरुपमा फर्काउन निकै श्रम र लगानीको आवश्यक परेको छ । अहिले रुप्से झरना उजाड र कुरुप बनेको उनले बताए ।
वि.स १९७५ सालमा ७५ पैशाको हुलाकी टिकटमा रुप्से झरनाको फोटो टाँसिएको थियो । अहिले प्रचलनमा नरहे पनि रुप्से झरनाको प्रचार प्रसार त्यतिखेर देखिनै भएको स्थानीय बृद्धवृद्धाहरुले बताएका छन् ।
साविकको दाना गाविसले रुप्से झरना र अन्धगल्छीको मूख्य भागसम्म पुग्ने पदमार्ग र भ्युटावर निर्माण गरेको थियो । मुस्ताङ जाने र त्यहाँबाट फर्कने आन्तरिक तथा बाह्य पर्यटक र तीर्थयात्रीहरु रुप्सेको मोहक सौन्दर्य देखेर लठ्ठिने गर्दथे ।
‘रुप्से झरनामा रमाउन गण्डकी प्रदेशबाट मात्रै होइन देश विदेशबाट आएका मानिसहरुको समेत भीड हुने गर्दथ्यो’ दानाका पर्यटन व्यवसायी इन्द्रशिंह शेरचनले भने ‘पुल नजिकै गाडीहरुको भीड हुन्थ्यो, झरनाको दायाँ र वायाँको भागमा मानिसहरु रमाउँदै तस्वीर लिन तछाड मछाड गर्दथे,अव त्यो सबै एकादेशको कथा जस्तै बन्यो ।’ विश्वको सबैभन्दा गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरना एकै स्थानमा अवस्थित छन् । झरनामा रमाउनका लागि आएका पर्यटकहरु सडकमा नै गाडी रोकेर झरनाको अवलोकनमा मुग्ध बनेपछि सडक समेत अवरुद्ध हुने गर्दथ्यो ।
रुप्से झरना र अन्धगल्छी सम्म पुग्न व्यवस्थित पदमार्ग र अवलोकनका लागि भ्युटावरका साथै अवलोकनकर्ताका लागि उचित बास र शौचालयको समेत व्यवस्था गरिएको थियो । बेनीका युवा सुवर्ण केसीले रुप्सेमा रमाउन आउनेहरुलाई लक्षित गरी रेष्टुरेन्ट पनि संचालन गरेपछि रातको १० बजेसम्म यहाँ पर्यटकहरुको भीड लाग्ने गर्दथ्यो ।
पछिल्लो तीनबर्ष यता हिमाली जिल्ला मुस्ताङमा स्थलमार्ग हुदै भ्रमणमा जाने आन्तरिक पर्यटकको सँख्या उल्लेख्य रुपमा बढेको थियो । ती पर्यटकहरु रुप्से झरना देखेर लोभिने गरेका रुप्सेमा रेष्टुरेन्ट संचालन गरेका सुवर्ण केसीले बताए ।
स्थानीयले झरनामा कान्छा भुमे देवताको बाशस्थान रहेको विश्वासले हरेक बर्षको जेठ महिनामा बोको बली चढाउंने गर्छन् । झरनलाई धार्मिक दृष्टिकोणले समेत पर्यटकीय गन्तव्य बनाउन सकिने संभावना देखिएको स्थानीयले बताएका थिए ।
तर,बाढीले रुप्से झरनाको चीर हरण गरिदिए पछि सवैको सपना भताभुङ्ग भएको छ । स्थानीयले प्राकृतिक विपत्ति मात्रै मानेका छैनन् यति वर्षसम्म केही नभएको रुप्से झरनामा बाढी आएर झरनाको सौन्दर्य नासिनुलाई उनीहरुले दैवी विपत्तिका रुपमा पनि बुझेका छन् । एक स्थानीय भन्छन् ‘यो शुभ संकेत होइन,महा विपत्तिको सूचना पनि हो ।’
जे भएपनि अहिले भने रुप्से सौन्दर्य विहीन बनेको छ । अव रुप्सेमा रमाउन पर्यटकहरु आउने कुनै सम्भावना नरहेकोले रुप्से झरनालाई पुरानै स्वरुपमा फर्काउन स्थानीय निकाय र पर्यटनसंग सम्वन्धित सरोकारवालाहरुले ठूलै मिहिनेत गर्नुपर्ने देखिएको छ ।

Leave a Reply