बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोले स्काभेटर, टिपर र ट्रयाक्टर पुरेको छ । गए राति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।

स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ छ । ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिरोले ध १ च ४७ नम्बरको ट्याक्टर र ग १ ख ४६३७ नम्बरको टिपर र स्काभेटर पुरिएको हो । स्काभेटरको नम्बर खुलेको छैन । ‘पहिले पनि पहिरो खसेको रहेछ, त्यसैलाई पन्छाउने र सामग्री उठाउने क्रममा पहिरो खसेको पाइएको छ’, प्रहरी निरीक्षक रिजालले भने ।

पहिरो गएको केहीबेरमै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो । निरन्तर पहिरो खसिरहेको र जोखिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उद्धारको प्रयास गरिए पनि सम्भव हुन सकेको थिएन । सुरक्षाकर्मीले जेनेरेटरबाट बत्ती बालेर रातभर उद्धारको प्रयास गरेका थिए ।

अहिले बिहानैदेखि उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । घटना भएको लामो समय बितिसक्दा समेत बेपत्ता चालक सम्पर्कमा नआएकाले पहिरोमै पुरिएको आशङ्का गरिएको वडा सदस्य सूर्य लामिछानेले जानकारी दिए । पुरिएको स्काभेटर निर्माण व्यवसायी विमलेस आचार्य र टिपर पर्वतका हरि घिमिरेको भएको बताइएको छ ।

Leave a Reply