पहिरोले पुरिएको घर नजिकै च्यातिएको र यत्रतत्र छरिएको अवस्थामा किताब, लत्ताकपडा देखिन्छ । बस्तीमाथिबाट खसेको पहिरोस्थलमा दैनिकजसो पुग्ने गरेका म्याग्दीको मालिका गाउँपालिका–७,बिम नौरूङका इन्द्रबहादुर केसीले पहिरोमा बेपत्ता भएकी १७ बर्षिया छोरी एलिशाको पुरानो सुर्केसभित्र राखिएको किताव पल्टाइरहेका छन् ।
 भाबुक अवस्थामा पहिरोले नामनिसाना समेत मेटिने गरी परिदिएको घर नजिकै भेटिएका केसीले किसानी माविमा कक्षा १० मा अध्ययनरत छोरी पहिरोमा पुरिएर बेपत्ता भएपनि खोजीकार्य रोकेका छैनन् ।
गएको असार २५ गते राती देखि नै भिषण बर्षासँगै आएको पहिरोले घरकी जेठी छोरी बेपत्ता भएपछि विस्थापित जीवन विताइरहेका केसीले पहिरोमा पुरिएर बेपत्ता भएकी छोरीकै कारण ज्यान जोगाएको बताउनुभयो ।
१७ बर्षिया छोरी एलिशा केसी पुरिएको स्थान । 
‘पहिरो खस्न थालेपछि छोरीकै अनुरोधमा हामी घरबाट सुरक्षित स्थानमा पुग्न सफल भयौ,‘सबैलाई सुरक्षित ठाउँमा पुर्याएर कपडा लिन घरभित्र पुगेकी छोरी बेपत्ता भईन्’ केसीले भन्नुभयो । छोरी एलिशाले भाईबहिनी सञ्जय र इस्मा केसीलाई पहिरो खस्दाखस्दै जोगाएको केसीको भनाई छ ।
‘पहिरो आउला भन्ने कल्पनासमेत थिएन्,‘परिवारका सबैलाई जोगाएकी छोरीलाई पहिरोले पु¥र्यो’ केसीले भन्नुभयो। पढाईमा मेहनती एशिलाको सर्तकताले परिवारका चार सदस्यको ज्यान जोगिएको छ भने उनको अवस्था अझै अज्ञात छ ।
छोरीको सम्झना आएपछि दैनिकजसो पहिरोस्थलमा पुग्ने गरेको केसीको भनाई छ । ‘भाईबहिनीलाई चाहिने कपडा लिएर आउँछु भन्दै गएकी थिईन्,‘घरभित्र प्रवेश गर्दावित्तिकै घर नै बगायो’ इन्द्रबहादुरले भन्नुभयो ।
पहिरोमा बेपत्ता भएकी छोरीको खोजीकार्यलाई नभेटिदाँ सम्म नछोड्ने उनको भनाई छ । ‘आफ्नै घर मसानघाट जस्तै भयो,‘छोरीलाई सम्झने ठाउँ मात्रै भयो’ इन्द्रबहादुरले ’भावविह्वल हुँदै भन्नुभयो । पहिरोले करिब ४ रोपनी खेतीयोग्य जमिन, १० वटा बाख्रा, कुखुरा लगायत घरभित्रका सबै नष्ट गरेकोमा खासै पछुतो नभएको केसीको भनाई छ ।
उहाँले घरको जेठो सन्तान छोरी हुदाँ अभिभावकलाई सजिलो हुन्छ भन्ने प्रमाण नै छोरी भएको समेत बताउनुभयो । छोरीकै सतर्कताले आमाबुबा, दुई भाईबहिनीको ज्यान जोगिएको स्थानीयको भनाई छ । पहिरोबाट नौरुङका ८ घर पूर्णरुपमा क्षतीग्रस्त भएको वडा अध्यक्ष सुविन जुग्जालीले बताउनुभयो ।
बाईनफाँट, दुले, अर्गला, नौरुङ, डाँडागाउँ, नौमाने, भारवाङ, खारा, लुरवाङ गाउँका २६ घर पहिरोले पुरिएको छ भने ५५ घरमा आंशिक क्षती र ७० घर पहिरोको उच्च जोखिममा छ । खानेपानी, पुन, सडक लगायतका भौतिक संरचना समेत तहसनहस भएको छ । विस्थापित भएकालाई गाउँको खाली घरमा राखिएको छ ।








