पहिरोले पुरिएको घर नजिकै च्यातिएको र यत्रतत्र छरिएको अवस्थामा किताब, लत्ताकपडा देखिन्छ । बस्तीमाथिबाट खसेको पहिरोस्थलमा दैनिकजसो पुग्ने गरेका म्याग्दीको मालिका गाउँपालिका–७,बिम नौरूङका इन्द्रबहादुर केसीले पहिरोमा बेपत्ता भएकी १७ बर्षिया छोरी एलिशाको पुरानो सुर्केसभित्र राखिएको किताव पल्टाइरहेका छन् । भाबुक अवस्थामा पहिरोले नामनिसाना समेत मेटिने गरी परिदिएको घर नजिकै भेटिएका केसीले किसानी माविमा कक्षा १० मा अध्ययनरत छोरी पहिरोमा पुरिएर बेपत्ता भएपनि खोजीकार्य रोकेका छैनन् ।

गएको असार २५ गते राती देखि नै भिषण बर्षासँगै आएको पहिरोले घरकी जेठी छोरी बेपत्ता भएपछि विस्थापित जीवन विताइरहेका केसीले पहिरोमा पुरिएर बेपत्ता भएकी छोरीकै कारण ज्यान जोगाएको बताउनुभयो ।१७ बर्षिया छोरी एलिशा केसी पुरिएको स्थान ।

‘पहिरो खस्न थालेपछि छोरीकै अनुरोधमा हामी घरबाट सुरक्षित स्थानमा पुग्न सफल भयौ,‘सबैलाई सुरक्षित ठाउँमा पुर्याएर कपडा लिन घरभित्र पुगेकी छोरी बेपत्ता भईन्’ केसीले भन्नुभयो । छोरी एलिशाले भाईबहिनी सञ्जय र इस्मा केसीलाई पहिरो खस्दाखस्दै जोगाएको केसीको भनाई छ ।

‘पहिरो आउला भन्ने कल्पनासमेत थिएन्,‘परिवारका सबैलाई जोगाएकी छोरीलाई पहिरोले पु¥र्यो’ केसीले भन्नुभयो। पढाईमा मेहनती एशिलाको सर्तकताले परिवारका चार सदस्यको ज्यान जोगिएको छ भने उनको अवस्था अझै अज्ञात छ ।

छोरीको सम्झना आएपछि दैनिकजसो पहिरोस्थलमा पुग्ने गरेको केसीको भनाई छ । ‘भाईबहिनीलाई चाहिने कपडा लिएर आउँछु भन्दै गएकी थिईन्,‘घरभित्र प्रवेश गर्दावित्तिकै घर नै बगायो’ इन्द्रबहादुरले भन्नुभयो ।

पहिरोमा बेपत्ता भएकी छोरीको खोजीकार्यलाई नभेटिदाँ सम्म नछोड्ने उनको भनाई छ । ‘आफ्नै घर मसानघाट जस्तै भयो,‘छोरीलाई सम्झने ठाउँ मात्रै भयो’ इन्द्रबहादुरले ’भावविह्वल हुँदै भन्नुभयो । पहिरोले करिब ४ रोपनी खेतीयोग्य जमिन, १० वटा बाख्रा, कुखुरा लगायत घरभित्रका सबै नष्ट गरेकोमा खासै पछुतो नभएको केसीको भनाई छ ।

उहाँले घरको जेठो सन्तान छोरी हुदाँ अभिभावकलाई सजिलो हुन्छ भन्ने प्रमाण नै छोरी भएको समेत बताउनुभयो । छोरीकै सतर्कताले आमाबुबा, दुई भाईबहिनीको ज्यान जोगिएको स्थानीयको भनाई छ । पहिरोबाट नौरुङका ८ घर पूर्णरुपमा क्षतीग्रस्त भएको वडा अध्यक्ष सुविन जुग्जालीले बताउनुभयो ।

बाईनफाँट, दुले, अर्गला, नौरुङ, डाँडागाउँ, नौमाने, भारवाङ, खारा, लुरवाङ गाउँका २६ घर पहिरोले पुरिएको छ भने ५५ घरमा आंशिक क्षती र ७० घर पहिरोको उच्च जोखिममा छ । खानेपानी, पुन, सडक लगायतका भौतिक संरचना समेत तहसनहस भएको छ । विस्थापित भएकालाई गाउँको खाली घरमा राखिएको छ ।

Leave a Reply