म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङमा बाढीपहिरोले पदैलमार्ग समेत भत्काएपछि खाद्यान्न ढुवानीमा समस्या भइरहेको छ । पहिरोस्थलबाटै ज्यानको जोखिम मोलेर हिड्नुपर्ने अवस्थामा पहिरोबाट विस्थापित भएकालाई खाद्यान्न ढुवानीमा समेत सकस भइरहेको अवस्थामा खच्चडबाट महंगो खर्च गरी ढुवानी गर्नुपर्ने बाध्यता रहेको स्थानीय डाँफे यूवा क्लवका पूर्व अध्यक्ष कमल केसीले बताउनुभयो ।

‘सहयोगदाताले हेलिकप्टरबाटै ल्याउनुभएको छ,‘खच्चडबाट समेत ल्याउन समस्या छ’ केसीले भन्नुभयो ।खच्चडबाटै ल्याउँदा समेत निकै महंगो ढुवानी पर्ने गरेको अवस्थामा तत्काल सडकमार्ग नै मर्मत गर्नुपर्नेमा जोड दिनुभयो ।

गत असार २६ गते पहिरोले मराङका करिब आधादर्जन बस्ती छियाछिया भएसँगै एउटा बस्तीबाट अर्कोमा जाने बाटो समेत नभएको अवस्थामा खाद्यान्न ढूवानीका लागि छिमेकी रघुगंगा गाउँपालिका–६ पाखापानी हुदै जंगलको बाटो खच्चडबाट जंगलबाट महंगोमा ढुवानी गर्नुपर्ने स्थानीयको भनाई छ ।

मराङ गाउँ जोड्ने पश्चिम म्याग्दीको ब्यापारिक केन्द्र दरबाङ हुदै जाने पैदलमार्ग समेत पहिरोले पुरिदिएपछि अर्को बैकल्पिक बाटो पाखापानी हुदै मल्कवाङको विभिन्न स्थानबाट गाउँसम्म ल्याउनुपर्ने अवस्था रहेको छ । पदैलमार्ग भएको विभिन्न स्थानमा पहिरो गएको छ ।

पहिरोले पदैलमार्ग पुरेपछि भिरमा जोखिम मोलेर यात्रा गर्नुपर्छ। पहिरोले छियाछिया भएको मराङका कुनैपनि बस्तीमा सहज पदैल हिड्ने बाटो छैन् ।

यता वडा सदस्य तिलकुमारी खत्रीले तत्काल सडक सञ्जाल ब्यवस्थित नभएपनि पदैलमार्गलाई सहज बनाउन सकेमा खाद्यान्न र आवतजावतमा सहज हुने बताउनुभयो । ‘ढुवानी गरेर खाद्यान्न खाने अवस्थामा छैनन्,‘तत्काल छोटो दुरीकै बाटो मर्मत गर्नुपर्छ’ खत्रीले भन्नुभयो ।

पहिरोसँगै अन्य धेरै समस्याको भूमरीमा परेको गाउँकार्यपालिका सदस्य समेत रहनुभएकी खत्रीको भनाई छ । पहिरोले मराङका विभिन्न बस्तीमा २१ जनाले ज्यान गुमाएका थिए भने २ जना बेपत्ता छन् । वडाभित्र करिब १७ हजार जनसंख्या रहेकोमा २१ घर पहिरोले पुरिदिएको छ भने २ सय २ घर उच्च जोखिम, ४० घरपरिवारले विस्थापित जिवन विताइरहेका छन् । करिब४ सय घरधुरी रहेको मराङमा खानेपानीको समेत अभाव छ ।

Leave a Reply