म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङका सुत्केरीलाई आवश्यक खाद्यान्न र बासस्थानको अभावले समस्या भएको छ । गत असार २६ गते पहिरोबाट विस्थापित भएका सुत्केरीलाई खाद्यान्न लगायत अति आवश्यक ब्यवस्थापन नहुदाँ कष्टकर जिवन विताइरहेका छन् ।

राम्चे नामरुक गाउँकी सविना विश्वकर्माले पहिरोबाट जोगिएपनि शिशुलाई हेरचाह र आफुँलाई खानेकुरा नभएको गुनासो गर्नुभयो । ‘पहिरो बल्लबल्ल बाँचियो,‘अब बाँच्न मुस्किल हुन्छ जस्तो भएको छ’ विश्वकर्माले बेनीअनलाइनलाई भन्नुभयो ।

सुत्केरी भएको ५ दिनमै पहिरोमा असर गरेपछि पाँच दिनको शिशु, अर्की छोरीलाई श्रीमानको सहयोगमा घरबाट निकालेर ल्याएको बताउँदै खानेकुरा, लत्ताकपडा सबै घरभित्रै थुनियो बताउनुभयो । सुत्केरी अवस्थामा खानेकुरा केही नभएकाले समस्या भएको अर्की सुत्केरी हरिमायाँ विकको गुनासो छ ।

‘गाउँमा किनेर खाने पनि छैन्,‘यो समयमा आफ्नो भन्दा शिशुको धेरै ध्यान दिनुपर्छ’ हरिमायाँले भन्नुभयो । श्रीमान बैदेशिक रोजगारको सिलसिलामा पाँच महिना अगाडी मात्रै खाडी मुलुकमा गएको अवस्थामा माईतघर नै पहिरोमा परेपछि विस्थापित भएको हरिमायाँको भनाई छ ।

‘घर फर्किने अवस्था छैन्,‘घरमा जाने चारवटै बाटो पहिरोले लगेको छ’ हरिमायाँले भन्नुभयो । काखमा छोरा बाहेक एक छोरी र एक छोरा छन् । हरिमायाँ र सविनाको बस्तीका सबै विस्थापित छन् भने पुनः घरमा बस्ने अवस्था छैन् । पौष्टिक खानाको अभावले सुत्केरीलाई समस्या भएपनि सहयोगदाताले सधै खाद्यान्न साम्रागी मात्रै लैजाने गरेको गुनासो समेत गर्नुभएको छ ।

जन्म भएपछिको २८ दिनसम्मको शिशुको अवस्थालाई नवजात अवस्था मानिन्छ । सुत्केरीलाई बेला–बेलामा आवश्यक पर्ने पौष्टिक खानेकुरा, सुत्केरी र नवजात शिशुका लागि सुरक्षित सफा ओड्ने ओछ्यान र सफा कपडाको अभाव देखिएको छ । सिंगो गाउँ नै पहिरोबाट विस्थापित भएको अवस्थामा सुत्केरी महिलालाई आवश्यक पर्ने पौष्टिक खाना गाउँमौ ब्यवस्थापन गर्न समस्या भएको वडा सदस्य तिलकुमारी केसीको भनाई छ ।

सुत्केरी महिलालाई गेडागुडी, मासु लगायतका पोषिलो खानेकुरा सहयोग गर्न समेत अनुरोध गरिएको छ । मराङमा सुत्केरीसँगै गर्भवती महिलालाई समेत समस्या छ । नियमित चेकजाँच तथा स्वास्थ्यमा जटिल समस्या भएमा तत्काल उपचारका लागि लैजाने सडक र पदैलमार्ग समेत पहिरोले भत्काइदिएपछि समस्या झन जटिल बन्दै गइरहेको छ ।

पहिरोले मराङका विभिन्न बस्तीमा २१ जनाले ज्यान गुमाएका थिए भने २ जना बेपत्ता छन् । वडाभित्र करिब १७ हजार जनसंख्या रहेकोमा २१ घर पहिरोले पुरिदिएको छ भने २ सय २ घर उच्च जोखिम, ४० घरपरिवारले विस्थापित जिवन विताइरहेका छन् । करिब४ सय घरधुरी रहेको मराङका पहिरो पीडितको अवस्था झन जटिल बन्न थालेपछि पैदलमार्ग र अति आवश्यक साम्रागी ढुवानीको माग गरिरहेका छन् ।

Leave a Reply